पहेँलो रङलाई राजनीतिक अभियानसँग जोडेपछि ब्राजिलियनहरूले राष्ट्रिय टोलीको जर्सी परिवर्तन गर्नुपर्ने अभियान चलाएका छन्।
ब्राजिलका निम्ति गौरव र विजयको प्रतीकका रूपमा रहेको रङलाई राष्ट्रपति जैर बोल्सोनारोको लिबरल पार्टीले आफ्नो राजनीतिक अभियानमा प्रयोग गरेको भन्दै बहुसंख्यक फुटबल फ्यानहरूले राष्ट्रिय टोलीको जर्सी परिवर्तनको अभियान चलाएका हुन्।
पाँच पटकको विश्वविजेता ब्राजिल अहिले विश्वकपमय बन्दैछ। समर्थकहरू कतारका रंगशाला जान आवश्यक प्रबन्ध मिलाइरहेका छन्। कतार जाने तयारीमा रहेकामध्ये एक हुन्, ह्युगर रमाहिओ। सन् २०१८ मा आफ्नो जन्मदिनमा उनले राष्ट्रिय टोलीको जर्सी लगाएका थिए। त्यही जर्सी यसपालिको विश्वकपमा लगाउने भन्दै उनले जतनले ह्यांगरमा झुण्ड्याएका थिए। राष्ट्रको गौरव बनेको जर्सीको रङमाथि राजनीतिकरण भएपछि त्यो जर्सी लगाउन पाइएला कि नपाइएला भन्ने बिलखबन्दमा उनी परेका छन्।
‘पहेँलो जर्सी ब्राजिलको विजयको प्रतीक थियो। त्यो पहिरिन पाउँदा गौरवको अनुभूति हुन्थ्यो। अब त हाम्रो विजयको प्रतीकमाथि पनि राजनीतिकरण भयो। म कुनै राजनीतिक दलको विचार मान्दिनँ। पहेँलो पहिरिनु अब अमुक राजनीतिक दलको विचारमा गोलबद्ध हुनुझैं भयो, त्यसैले समर्थकहरूले जर्सी परिवर्तनको माग गरिरहेका हुन्,’ ३३ वर्षीय उनले भने।
ब्राजिलको पहेँलो जर्सीलाई कानारिनो पनि भनिन्छ। यो जर्सी ब्राजिलको राष्ट्रिय टोलीको सुरूवाती जर्सी थिएन। सन् १९५० को विश्वकपमा उरूग्वेसँग भिड्दा ब्राजिल सेतो जर्सीमा मैदानमा थियो। त्यसपछिको विश्वकपदेखि मात्रै ब्राजिल पहेँलो जर्सीमा मैदानमा देखिन थाल्यो। सन् १९५३मा ब्राजिलले राष्ट्रिय जर्सीको डिजाइन गरेको थियो।
ब्राजिलको फुटबल नियामक संस्थाले जर्सी डिजाइनको लागि प्रतिस्पर्धा नै घोषणा गरेको थियो। जर्सी रङ राष्ट्रिय झण्डासँग मिल्दो हुनुपर्ने मापदण्ड राखिएको थियो। सेतो जर्सीले ब्राजिलको राष्ट्रियता नझल्किने भन्दै रङ परिवर्तनको निर्णय लिइएको थियो। जर्सी डिजाइन गर्ने प्रतिस्पर्धामा तीन सय जना सहभागी थिए। उक्त प्रतिस्पर्धाबाट अल्दिर गार्सिया स्लीको डिजाइन छनौट भयो।
पहेँलो जर्सी लगाएर मैदान छिरेपछि ब्राजिलले पाँच वटा विश्वकप उचाल्यो। त्यही जर्सीमा कोपा अमेरिकाका अधिकांश कप भित्र्यायो। त्यसैले पहेँलो जर्सीलाई ब्राजिलमा आशा, भाग्य र एकताको प्रतीकका रूपमा लिइन्छ।
ब्राजिलमा पेलेको जर्सी नम्बर १०, रोनाल्डोको जर्सी नम्बर ९ र रोमारियोको जर्सी नम्बर ११ लाई सफल र समृद्ध इतिहास बोकेको रूपमा हेरिन्छ। आशा, भाग्य र एकताको प्रतीक र समृद्ध र सफल इतिहास बोकेको पहेँलो रङमा राष्ट्रपति जैर बोल्सोनारो राजनीति गर्न थालेपछि त्यसलाई त्याग्नुपर्ने अभियान ब्राजिलमा बढ्दो छ।
राष्ट्रलाई एकीकृत राख्ने फुटबललाई राष्ट्रपतिले मैदान बाहिर प्रयोग गरेर एकता बिथोल्न खोजेको टिप्पणी कतिपय फुटबल समर्थकहरूको छ।
‘दक्षिणपन्थीहरूले राष्ट्रको गौरवलाई राजनीतिक स्वार्थका निम्ति प्रयोग गर्न खोजेका छन्। उनीहरूले हाम्रो एकताको प्रतीक र गौरवलाई हामीबाट खोस्दै राजनीतिक विचारको प्रतीक बनाउन खोजे,’ विश्लेषक इजाबेला ग्येजस्ले भनिन्।
राष्ट्रिय गौरवको प्रतिकलाई आफ्नो स्वार्थमा प्रयोगको शिलशिलाको सुरूवात जैर बोल्सोनारोले मात्रै गरेका होइनन्। सन् १९७० मा सैनिक शासक जनरल मेडिटीले पनि आफ्नो स्वार्थका निम्ति प्रयोग गरेका थिए। सन् १९७० को विश्वकपमा मेडिटीले राष्ट्रिय टोलीका प्रशिक्षकलाई समेत हटाएका थिए।
समयक्रममा ब्राजिलको जर्सीले राष्ट्रलाई जोड्दै पनि गयो।
‘जनताले जर्सी लगाउँदा राष्ट्रिय टोलीकै सदस्यसँगै जोडिएको अनुभूति गर्थे। यो जर्सीले मानिसको भावनालाई यसरी जोडेको छ कि जनताका पक्षमा हुने हरेक आन्दोलनमा नागरिकहरू स्वत:स्फूर्त रूपमा पहेँलो जर्सीमै सडकमा देखिन्छन्,’ फुटबल समर्थक फन्टानिलले भनिन्।
सन् २०१३ मा ब्राजिलमा महंगी र भ्रष्टाचारविरूद्ध आन्दोलन भएको थियो। त्यसमा नागरिकहरू पहेँलो जर्सीमै सडकमा उत्रिएका थिए।
‘त्यो आन्दोलन पहेँलो जर्सीकै कारण सशक्त बन्यो। सुरूमा जोडिन नआएकाहरू लज्जित भए र पछि पहेँलो जर्सी लगाएर आन्दोलनमा जोडिन थाले। मैदानमा विपक्षीसँग लड्नका निम्ति मात्रै होइन सत्ताविरूद्ध नागरिकहरू लड्नुपर्ने अवस्थामा पनि पहेँलो जर्सीको प्रयोग हुन्छ। अल्पसंख्यकहरूको आवाज बुलन्द गर्न पनि यही रङ प्रयोग हुन्छ,’ ब्राजिलका अर्का समर्थक जोआनाले भने।
‘गिभ ब्याक आवर फ्ल्याग’ अभियान
राष्ट्रिय गौरवको प्रतीकमा राजनीतिकरण बढ्दै गएपछि फिल्म निर्माता जो कार्लोसले राष्ट्रिय गौरवमा राजनीतिकरण नगर्न दबाबस्वरूप अभियान चलाएका थिए। उनको अभियानको नाम थियो, गिभ ब्याक आवर फ्ल्याग (हाम्रो झन्डा फिर्ता देऊ)।
उनले अबदेखि ब्राजिलले पुरानै जर्सी प्रयोग गर्नुपर्ने अभियान चलाएका थिए।
‘नागरिकसँग उनीहरूको गौरव छिन्ने डरलाग्दो सरकारको सामना हामीले गरिरहेका छौं। हाम्रो गौरवमा कुनै पनि राजनीतिकरण हामीलाई मान्य हुँदैन,’ उनले भने।
सन् २०२० मा बोल्सोनारोले अदालत र संसदअघिको र्यालीमा समर्थकहरूलाई पहेँलो रङमै आउन भनेका थिए। पहेँलो रङलाई दक्षिणपन्थी अभियानसँग जोड्ने प्रयत्नलाई प्रजातन्त्रवादी समूहले सशक्त विरोध गरेका थिए र अहिले पनि गर्दैछन्। ब्राजिलको फुटबल संग्राहलयका लाइबेरियन तथा इतिहासकार अदम्मिर तकाराले भनेका छन्, ‘फुटबल सबैको हो। राष्ट्रिय एकताको प्रतीक बनेको पहेँलो रङलाई फाँसीवादी विचारको प्रवर्द्धन गर्ने शक्तिले प्रयोग गरेको कुरा मलाई फिटिक्कै मन परेको छैन। बहुसंख्यक नागरिक यो घृणित कार्यको विपक्षमा छन्।’
सन् २०१३ देखि पहेँलो रङलाई विभिन्न राजनीतिक दलले आफ्नो निहित स्वार्थका निम्ति व्यापक प्रयोग गर्न थालेको अदम्मिर बताउँछन्।
‘आफ्नो राजनीतिक अभियानमा कसैलाई आकर्षित गर्नुपर्यो कि पहेँलो जर्सीलाई हतियार बनाउन थाले। यो नै उनीहरूका निम्ति सहज बाटो हुन थाल्यो। यसले हाम्रो राष्ट्रिय एकताको प्रतीकलाई बदनाम बनाइरह्यो,’ उनले भने।
अघिल्लो महिनामात्रै राष्ट्रपति बोल्सोनारोका हजारौं समर्थक राजधानी रियो दि जेनेरियोमा पहेँलो जर्सीमा उत्रिए। ब्राजिलमा आउँदो आइतबार नयाँ राष्ट्रपतिका लागि चुनाव हुँदैछ। चुनावी अभियानका निम्ति बोल्सोनारोका हजारौं समर्थक पहेँलो जर्सीमा उत्रिएपछि राष्ट्रिय टोलीको जर्सी परिवर्तनको पक्षमा आवाज बुलन्द भइरहेको हो।
पहेँलो जर्सीको राजनीतिकरणको विपक्षमा पूर्वराष्ट्रपति लुइज इनासिलो लुआ पनि उभिएका छन्।
‘पहेँलो जर्सी वर्तमान सरकारको प्रतीक बनेकोमा निकै दु:खी छु। नागरिकलाई एकतावद्ध बनाउने यो जर्सी ब्राजिलको सार्वभौमिकताको प्रतीक हो। यसलाई खोस्नु सार्वभौमिकताको हरण हो । मलाई विश्वास छ सरकारले यो भुल सच्याउने छ,’ उनले भनेका छन्।
(अलजजिरा, बिबिसीलगायत विभिन्न सञ्चारमाध्यमहरूका विवरणमा आधारित।)