एउटा खेलाडीको प्रतिभाले यतिबेला विश्व फुटबलमा नयाँ तरंग सिर्जना भएको छ। जुन खेलाडीमा अपत्यारिलो तथा अविश्वसनीय कीर्तिमानको भोक छ-जसको नाम हो, इर्लिन हाल्यान्ड।
विहानीले नै दिनको संकेत गर्छ भने झैं अहिलेको लयलाई समात्न सके हाल्यान्ड आगामी पुस्ताका लागि प्रेरणा तथा फुटबलका नयाँ मानक बन्न सक्छन्।
जुलाई २१ ,२००० मा इंग्ल्यान्डको लिड्समा हाल्यान्डको जन्म भएको थियो। उनका पिता अल्फी हलान्ड लिड्स युनाइटेडका लागि खेल्ने गर्थे। तर २००४ मा तीन बर्षको उमेरमा हाल्यान्डलाई आफ्ना बाबु आमाको देश नर्वे लगिया। आज उनै हाल्यान्ड इंग्लिस क्लब म्यानचेस्टर सिटी तथा नर्वेको राष्ट्रिय टिमका स्ट्राइकरको रूपमा खेल्ने गर्छन्। मजबूत शारीरिक बनोट, गति तथा फिनिसिङका कारण हाल्यान्ड विपक्षी टिमको निद हराम गर्न सक्षम मानिन्छन्।
हाल्यान्डका बुवा सिटीका पूर्व खेलाडी समेत हुन्। हाल्यान्डको पारिवारिक पृष्ठभूमि खेलकुद भएका कारण उनलाई फुटबलमा करिअर बनाउन कठिन भएन। उनका बुवा फुटबल खेलाडी थिए भने आमा ट्र्याक एन्ड फिल्डकी खेलाडी थिइन्। त्यस्तै, उनका भाइहरु नर्वेजियन क्लबबाट फुटबल खेल्ने गर्छन्। बहिनी नर्वेजियन क्लब क्लेपको डिफेन्डर हुन्।
हाल्यान्ड इंग्ल्यान्डका लागि खेल्न पनि सक्थे। इंग्ल्यान्डमा जन्मेका कारण उनी इंग्ल्यान्डको राष्ट्रिय टिमबाट खेल्न योग्य छन। तर, उनले आफ्नो बुबाको देश नर्वेबाट खेल्ने निधो गरे। यसो भन्न सकिन्छ उनले आफ्नै माता पिताको देश रोजे।
आश्चर्य के भने पाँच वर्षकै उमेरमा उनले लङ जम्पमा १.६३ मिटरको रेकर्ड दर्ता गराएका थिए। लङ जम्पबाट फुटबलतर्फ मोडिएका हाल्यान्डले जे निर्णय गरे ठिक निर्णय गरे भन्ने कुरा आजको उनको सफलताले पुष्टि गर्छ।
त्यति मात्र होइन एकै खेलमा नौ गोल समेत गरेका छन्। यु-२० विश्वकप २०१९ मा होन्डुरसविरुद्ध उनले ९ गोल गर्दै तहल्का मच्चाएका थिए। सो खेल नर्वेले १२-० गोलले जितेको थियो। हाल्यान्ड उक्त प्रतियोगिताको शीर्ष गोलकर्ता समेत रहेका थिए।
लाग्छ हाल्यान्डका जन्म नै नयाँ कीर्तिमानका लागि भएको हो। मात्र २० खेलमा युइएफए च्याम्पियन्स लिगमा सबैभन्दा छिटो २५ गोल, युइएफए च्याम्पियन्स लिगको लगातार ४ खेलमा कम्तिमा दुई गोल गर्ने पहिलो खेलाडी बन्दै उनले कीर्तिमान बनाए। जर्मन बुन्डेस लिगाको पहिलो दुई खेलमा ५ गोल गर्ने पहिलो खेलाडी, जर्मन बुन्डेस लिगामा कम्तिमा २५ गोल गर्ने खेलाडीहरु मध्येमा औसत गोलको समयमा सबैभन्दा छिटो (एक गोलका लागि ८७ मिनेट) गोल गर्ने कीर्तिमान पनि उनको नाममा छ।
च्याम्पियन्स लिग र प्रिमियर लिगको डेब्यू गोल गर्ने सिटीको पहिलो खेलाडी, प्रिमियर लिगको पहिलो ५ खेलमा ९ गोल गर्ने पहिलो खेलाडी र अगष्ट महिनामा सबैभन्दा बढी प्रिमियर लिग गोल गर्ने खेलाडी (९ गोल) को कीर्तिमान पनि उनले बनाइसकेका छन्।
प्रिमियर लिग अन्तर्गत घरेलु मैदानमा लगातार तेश्रो ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी, प्रिमियर लिग इतिहासमा सबैभन्दा कम खेलमा तीन ह्याट्रिक पुरा गर्ने कीर्तिमान (८ खेल) र म्यान्चेस्टर डर्बीमा ह्याट्रिक पूरा गर्ने तेश्रो खेलाडीको कीर्तिमान पनि उनको नाममा छ।
इंग्लिस क्लब म्यानचेस्टर सिटीले यस सिजन बोरुसिया डर्टमन्डका स्टार हाल्यान्ड भित्र्याएको नतिजा मैदानमा देखिसकेको छ। उनलाई सम्झौता गर्न ला लिगा क्लब रियल म्याड्रिड पनि धेरै इच्छुक रहेको थियो। तर उनलाई रियलले किन सम्झौता नगरेको होला भन्ने चासो समेत उठ्ने गर्छ। हाल्यान्डका प्रतिनिधि रियल म्याड्रिडमा हाल्यान्डको दोस्रो वर्ष पछि सक्रिय हुने गरी मिलियन युरोको रिलिज क्लज समावेश गर्न चाहन्थे, जुन कुरामा रियलका अध्यक्ष अनिच्छुक थिए।
रिलिज क्लज खेलाडीको सम्झौतामा हुने एक शर्त हो। उक्त सर्तमा सहमत भएको मूल्य कुनै क्लबले तिर्न सके खेलाडीलाई क्लब छोड्नबाट कसैले रोक्न सक्दैन। सबै खेलाडीहरूको रिलिज क्लज मूल्य हुन्छ। रिलिज क्लजले खेलाडीलाई क्लबसँग सम्झौता बाँकी रहेको बेला पनि क्लब छोड्ने अनुमति दिन्छ। रिलिज क्लजकै प्रयोग गरेरै हाल सिटीले हाल्यान्डलाई साइन गरेको हो भने डर्टमन्डमा उनको रिलिज क्ल ६० मिलियन युरो रहेको थियो।
हाल्यान्डको तुफानी लयमा सबैभन्दा ठूलो ढाडस बनेका छन्, म्यानेजर पेप ग्वार्डिओला। पेप आधुनिक फुटवलका सफल ब्यवस्थापक हुन्। सिटीलाई सफलताको शिखरमा पुर्याउन च्याम्पियन्स लिग जिताउन जरूरी छ। सिटीले घरेलु लिगमा दबदबा मच्चाउँदा च्याम्पियन्स लिगमा भने निराश हुनु परेको छ। हाल्यान्डको आगमन पश्चात् सिटीको च्याम्पियन्स लिग जित्ने सपना साकार होला या नहोला यसै भन्न सकिन्न। तर दबाब भने अझ बढ्ने छ।
म्यानचेस्टर युनाइटेडविरूद्ध ह्याट्रिक गरेका हलान्डलाई मेसीसँग तुलना गर्दै पत्रकारले जब ग्वार्डिओलासँग प्रश्न गरे, तब ग्वार्डिओलाको जवाफ थियो।
‘दुवैमा फरक के हो भने, हाल्यान्डलाई यो गर्नका लागि आफ्ना सबै साथीहरू चाहिन्छ। यो अविश्वसनीय छ। तर मेसीमा यो गर्न सक्ने क्षमता आफैमा छ।’
यसको अर्थ हाल्यान्ड अझै खारिन जरूरी छ। जे सुकै होस् इंग्लिस प्रिमियर लिगमा चम्किएका हलान्डका बारेमा लेखिने कथाहरू भने तयार भैसकेका छन्।