लिभरपुललाई हराउँदै आर्सनल पुनः प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ।
आइतबार राति इमिरेट्स स्टेडियममा भएको रोमाञ्चक खेलमा लिभरपुललाई ३-२ गोल अन्तरले हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लिएको हो।
खेलको पहिलो मिनेटमा नै ग्याब्रिएल मार्टिनेलीले गोल गर्दै आर्सनललाई सुरूआती अग्रता दिलाएका थिए। तर डार्विन नुनेजले ३४ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।
इन्जुरी समयमा बुकायो साकाले गोल गर्दै आर्सनललाई पहिलो हाफमै २-१ को अग्रता दिलाए।
तर, आर्सनलको अग्रता लामो समय टिकेन । दोस्रो हाफको सुरूवातमा नै रोबर्टो फर्मिन्होले गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए।
खेलका ७६ औँ मिनेटमा थियागोले ग्याब्रियल जिसुसलाई फल हानेपछि आर्सनलले पेनाल्टी पायो। जसलाई साकाले गोलमा परिणत गर्दै टोलीलाई महत्वपूर्ण जीत दिलाए।
यो जितसँगै ९ खेलपछि २४ अंक बटुल्दै आर्सनल लिगको शीर्ष स्थानमा उक्लिएको छ। लिभरपुल १० अंकसहित लिगको १० औँ स्थानमा छ।