१३१ जनाको ज्यान जाने गरि भएको भागदौडपछि इन्डोनेसियाले काञ्जरूहान रंगशाला भत्काउने घोषणा गरेको छ।
यहीँ रंगशालामा असोज १६ गते भएको एक फुटबल खेलमा भागदौड हुँदा सयौं घाइते भएका थिए।
राष्ट्रपति जोको विडोडोले कन्जरूहान रंगशाला फिफाको नियम अनुसार पुनर्निर्माण गरिने भन्दै यसलाई भत्काउने बताएका छन्।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँगको भेटपछि राष्ट्रपति विडोडोले यस्तो घोषणा गरेका हुन्।
उनले देशले फुटबलको व्यवस्थापन गर्ने तरिका पूर्ण रूपमा परिवर्तन गर्नुपर्नेसमेत बताए।
इन्डोनेसियाले सन् २०२३ मा हुने यू–२० विश्वकप आयोजना गर्ने तयारी गरेको छ। आउँदो गर्मीमा हुने प्रतियोगिता इन्डोनेसियाका ६ वटा सहरमा २४ देशले प्रतिस्पर्धा गर्नेछन्।
यसैबीच फिफा प्रमुखले फुटबल खेल हेर्न आउने दर्शकलाई सुरक्षित वातावरण उपलब्ध गराइनेसमेत बताए।
‘यो एक फुटबल देश हो, जहाँ १०० मिलियन भन्दा बढी मानिसहरूको लागि फुटबल रूचिको विषय हो,’ उनले भने,‘ हामी उनीहरूप्रति ऋणी छौं र उनीहरूले खेल हेर्दा सुरक्षित र ढुक्क हुन सकुन्।’
असोज १६ गते पर्सेबाया सुराबायाले घरेलु टोली अरेमा एफसीलाई पराजित गरेपछि हार खाएको समर्थकहरूले हार सहन नसकेर हिंसा मच्चाएका थिए।
त्यसपछि त्यहाँ जम्मा भएको भीडमा भागदौड पनि मच्चिएको थियो। त्यसलगत्तै प्रहरीले पनि भीड नियन्त्रण गर्न अश्रुग्यास प्रहार गरेको थियो।
प्रहरीले अश्रुग्यास हानेपछि सो खेल हेर्न त्यहाँ जम्मा भएका भीडका बीचमा भागदौड भएको थियो। धेरै जसो मानिसले त्यहीँ भागदौडमा परेर ज्यान गुमाएका थिए।