पाँचौ संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता कात्तिक दोस्रो सातादेखि हुने भएको छ।
डाँगीहाट युथ क्लबको आयोजनामा लक्ष्मीमार्गस्थित लक्ष्मी माविको खेलमैदानमा कात्तिक १५ देखि २३ गतेसम्म गोल्डकप हुने भएको हो।
आयोजक समितिका अनुसार यस वर्षको पुरस्कार राशी बढाएको छ।
पाँचौँ संस्करणमा विजेताले नगद ८ लाख १ हजार र उप-विजेताले ४ लाख १ हजार रुपैयाँ पाउनेछन्। यसअघिको चौथो संस्करणमा विजेताले ५ लाख रूपैयाँ रहेको थियो ।
गोल्डकपमा तीन वटा विदेशी टिमसहित १० टिमको सहभागिता रहेको डाँगीहाट युथ क्लबका अध्यक्ष विक्रम राईले जानकारी दिए।
प्रतियोगितामा गत वर्षको विजेता टिम सशस्त्र प्रहरी बलसहित रोलिङ एफ सी झापा, पेम्बा युथ क्लब विराटनगर, आयोजक डाँगीहाट युथ क्लब, सहारा क्लब पोखरा, भारतको वेस्ट बंगाल आमुक्त परिवार, सिराहाको सहलेस युथ क्लब, एभिनियर फुटबल क्लब क्यामरुन, युनाईटेड ब्रदर्श कालिम्पोङ भारत र धनकुटाको राजारानी फुटबल क्लबको सहभागिता रहनेछ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलकिपरलाई १५ हजार, उत्कृष्ट डिफेन्डरलाई १५ हजार, उत्कृष्ट मिडफिल्डरलाई १५ हजार पुरस्कार राशी दिइने आयोजकले बताएको छ।
उत्कृष्ट कोचलाई ३५ हजार, सर्वाधिक गोलकर्तालाई १५ हजार उदीयमान खेलाडीलाई १५ हजार रुपैयाँको साथै प्रत्येक दिनको म्यान अफ द म्याच पुरस्कार पनि दिइने र राशी पाँच हजार रुपैयाँ हुनेछ।
प्रतियोगिताको उद्घाटन खेल झापाको रोलिङ एफ सी र पेम्बा युथ क्लब विराटनगरबीच हुनेछ।