इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ। घरेलु मैदानमा ब्राइटन होब अल्वियोनमाथि ३–१ को सहज जित निकाल्दै सिटी शीर्ष स्थानमा अंक छोट्याएको छ।
सिटीको जितमा एर्लिङ ब्राउट हालान्डले दुई तथा केभिन ड्रि ब्रुएनाले एक गोल गरे। ब्राइटनका लियान्द्रो ट्रोससार्डले एक गोल फर्काए।
इतिहाद रंगशालामा शनिबार राति भएको खेलको २२औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई सुरूआती अग्रता दिलाए।
४३ औं मिनेटमा हालान्डले पेनाल्टीमा गोल गर्दै सिटीको अग्रता पहिलो हाफमै दोब्बर पारे।
५३औं मिनेटमा लियान्द्रो ट्रोससार्डले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए। तर ७५औं मिनेटमा कप्तान केभिन डि ब्रुएनाले गोल गर्दै सिटीको जित पक्का गरे।
यो जितसँगै सिटीले शीर्षस्थानको आर्सनलसँगको अंक दुरी १ मा छोट्याएको छ। सिटीको ११ खेलबाट २६ अंक पुगेको छ। एक खेल कम खेलेको आर्सनलको २७ अंक छ। पराजित ब्राइटन १५ अंक जोडेर आठौं स्थानमा छ।