नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले भारतको शीर्ष डिभिजनको लिग खेल्ने भएकी छिन्।
सिजन २०२३ को हिरो इन्डियन वुमन्स लिगका लागि सेथु एफसीसँग सम्झौता भएको उनले बताइन्।
उनका अनुसार हवाइ टिकट क्लबले बेहोर्नेछ। सम्झौता रकम भने खुलाइएको छैन।
यसै वर्ष नेपाली राष्ट्रिय टिमको कप्तान नियुक्त भएकी एन्जिला भारतको शीर्ष डिभिजनको महिला लिग खेल्ने नेपालको तेस्रो खेलाडी बन्न लागेकी हुन्।
नेपालमा एपिएफ क्लबमा आबद्ध एन्जिला नेपाली राष्ट्रिय टिमको पहिलो रोजाइकी गोलकिपर समेत हुन्।
यसअघि सेथु एफसीबाट सन् २०१९ मा सावित्रा भण्डारी साम्बा र अनिता बस्नेतले खेल्दै उपाधि जितेका थिए।
अर्को सिजन साम्बा गोकुलम केरलामा आबद्ध भएकी थिइन्।
यो सिजनको इन्डियन वुमन्स लिगको पहिलो चरण जनावरी दोस्रो सातादेखि सुरु हुने बताइएको छ। गत सिजनको लिगमा दोस्रो भएको सेथु एफसीले भने सिधै फाइनल चरण खेल्दैछ।
गत सिजनको शीर्ष चार टिमलाई सिधा फाइनल चरणमा स्थान दिइएको छ।