स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिड तुलनात्मक रूपमा कमजोर रहेको जिरोनासँग बराबरीमा रोकिएको छ।
आइतबार राति आफ्नै घरेलु मैदानमा अन्तिम समयमा १० खेलाडीमा समेटिएको रियल मड्रिड जिरोनासँग १-१ गोलको बराबरीमा रोकिदै अंक बाँड्न पुगेको हो।
रियलका लागि भिनिसियस जुनियरले गोल गर्दा जिरोनाका क्रिस्टियन स्टुआनीले बराबरी गोल फर्काए।
पहिलो हाफमासम्म दुवै टिमले गोलरहित बराबरी खेलेका थिए। खेलको ७०औँ मिनेटमा भिनिसियसले गोल गर्दै रियल मड्रिडलाई १-० को अग्रता दिलाए। तर खेलको ८०औँ मिनेटमा जिरोनाले बराबरी गोल गर्यो।
डिबक्सभित्र मार्को एसेन्सियोले ह्यान्ड गरेपछि जिरोनाले पेनाल्टी पाएको थियो। क्रिस्टियन स्टुआनीले पेनाल्टीबाट गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा पुर्याए।
इन्जुरी समयको पहिलो मिनेटमा मिड्फिल्डर टोनी क्रुसले दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।
बराबरीमा रोकिए पनि रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा कायमै छ। रियल मड्रिडले १२ खेलबाट ३२ अंक बनाएको छ। यस्तै दोस्रो स्थानमा रहेको बार्सिलोनाको समान खेलबाट ३१ अंक छ।
रियललाई बराबरीमा रोकेको जिरोना १० अंकसहित रेलिगेशन जोनबाट बाहिर निस्किएको छ।