मैत्रीपूर्ण फुटबल खेलका लागि पाकिस्तानले पत्र पठाएको दुई सातापछि मात्र नेपालले त्यसको जवाफ पठाएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी कात्तिक ३० गते दशरथ रंगशालामा नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण खेल खेल्न सकिने पत्र पठाएको हो।
यसअघि पाकिस्तान फुटबल महासंघले कात्तिक ३० र मंसिर ६ मा खेल खेल्नका लागि प्रस्ताव गरेको थियो। तर एन्फाले नेपालमा हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका कारण कात्तिक ३० मा मात्र खेल खेल्न सकिने पत्र पठाएको छ।
अब पाकिस्तानले पत्रको जवाफ पठाएपछि नेपाल र पाकिस्तानबीचको खेल हुने विषय टुंगो लाग्नेछ।
हाल मुख्य प्रशिक्षकबिहीन नेपाली टिमको प्रशिक्षकका लागि चार जनाको नाम अनौपचारिक रुपमा छलफल भएको छ।
जसमा मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवाल, नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापा, त्रिभुवन आर्मी क्लबका प्रशिक्षक नवीन न्यौपाने र पूर्वप्रशिक्षकद्वय अब्दुल्लाह अलमुताइरी र योहान कालिनका सहायक किरण श्रेष्ठको नाममा छलफल भएको छ। जसमा कटुवानल मुख्य दाबेदार छन्।
यसअघि नेपालले गत महिना बंगलादेशसँग दशरथ रंगशालामा खेल खेलेको थियो। अन्जन विष्टको ह्याट्रिकमा जित निकालेको नेपाली टिमको प्रशिक्षण प्रदीप हुमागाइँले सम्हालेका थिए।