नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आगामी नोभेम्बर १६ मा (कात्तिक ३०) दशरथ रंगशालामा पाकिस्तान राष्ट्रिय टोलीसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ।
आठ वर्षको अन्तरालपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तानी पुरुष टोली मैत्रीपूर्ण खेलका लागि काठमाडौं आउन लागेको हो।
एन्फाले आगामी मैत्रीपूर्ण खेलका लागि प्रवेश कटुवाललाई टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
कटुवालले मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नियुक्ति पत्र पाएका हुन्। मैत्रीपूर्ण खेल साँझ ५ बजे हुनेछ।
झापाका कटुवाल लिग च्याम्पियन मछिन्द्र क्लबका प्रशिक्षक समेत हुन्।
यसअघि मैत्रीपूर्ण फुटबल खेलका लागि पाकिस्तानले पत्र पठाएको दुई सातापछि मात्र नेपालले त्यसको जवाफ पठाएको थियो।
यसअघि पाकिस्तान फुटबल महासंघले कात्तिक ३० र मंसिर ६ मा खेल खेल्नका लागि प्रस्ताव गरेको थियो। तर एन्फाले नेपालमा हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका कारण कात्तिक ३० मा मात्र खेल खेल्न सकिने पत्र पठाएको थियो।
यस्तै प्रशिक्षकका लागि चार जनाको नाम अनौपचारिक रुपमा छलफल भएको थियो।
जसमा मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवाल, नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापा, त्रिभुवन आर्मी क्लबका प्रशिक्षक नवीन न्यौपाने र पूर्वप्रशिक्षकद्वय अब्दुल्लाह अलमुताइरी र योहान कालिनका सहायक किरण श्रेष्ठको नाममा छलफल भएको थियो।
यसअघि नेपालले गत महिना बंगलादेशसँग दशरथ रंगशालामा खेल खेलेको थियो। अन्जन विष्टको ह्याट्रिकमा जित निकालेको नेपाली टिमको प्रशिक्षण प्रदीप हुमागाइँले सम्हालेका थिए।