युइएफए च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा इटालियन क्लब युभेन्ट्सलाई हराएको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) समूह ‘एच’ बाट उपविजेता बनेर प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ।
गएराति भएको खेम घरेलु टोलीलाई २–१ ले हराए पनि अर्को खेलमा पोर्चुगिज क्लब बेन्फिकाले मकावी तेल हाइफामाथि ४–० को फराकिलो जित निकालेपछि पिएसजी गोल अन्तरमा पछि पर्दै समूहमा दोस्रो बनेको हो।
पिएसजी र बेन्फिकाले समान खेलबाट समान १४ अंक जोड्दा गोल अन्तर, गोल गरेको र खाएको गोल पनि बराबरी भएपछि बढी अवे गोलका कारण बेन्फिका शीर्ष स्थानमा उक्लिएको हो। बेन्फिकाले ९ अवे गोल गर्दा पिएसजीले ६ अवे गोल मात्र गरेको छ।
बेन्फिका र पिएसजीले समान ६ खेलबाट १४ अंक जोडे। युभेन्ट्स र मकावी हाइफाले समान ३-३ अंक जोडेर पुछारमा रहे।
एलिएन्ज स्टेडियम टुरिनमा बुधबार राति भएको खेलमा पिएसजीको जितमा केलियन एम्बाप्पे र नुनो मेन्डेसले एक एक गोल गरे। युभेन्ट्सका लियोनार्दो बोनुचीले एक गोल फर्काएका थिए।
खेलको १३औं मिनेटमा मेसीको पासमा एम्बाप्पेले गोल गर्दै पिएसजीलाई सुरूआती अग्रता दिलाए। तर ३९ औं मिनेटमा बोनुचीले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए।
६९औं मिनेटमा एम्बाप्पेको पासमा नुनो मेन्डेसले गोल गर्दै पिएसजीलाई पुनः अग्रता दिलाए।
त्यसपछि खेलमा गोल हुन नसक्दा पिएसजी २-१ ले विजयी भयो।
यस्तै गए रातिनै भएको अर्को खेलमा बेन्फिकाले मकावीमाथि ६–१ को सानदार जित निकाल्यो। बेन्फिकाको जितमा गोन्कालो रामोस, पिटर मुसा, एलेक्स ग्रिमाल्डो, राफा सिल्भा, हेनरिक एराउजो र जोओ मारियाले गोल गरे। मकावीका जरुन चेरेले एक गोल फर्काए ।
खेलको ५९औं मिनेटसम्म १–१ गोलको बराबरीको स्थिति रहँदा त्यसपछि बेन्फिकाले लगातार ५ गोल गर्दै समूह विजेता बन्न सफल भयो। यो जितपछि बेन्फिकाले ६ खेलबाट १४ अंक जोड्दै पिएसजीसँग अंक बराबर गर्यो।
च्याम्पियन्स लिगको इतिहासमा एउटै समूहका शीर्ष दुई टोलीले जित, बराबरी, हार, अंक, गोल र गोलको बराबरी पाएको यो पहिलो पटक हो।