धनुषाको बटेश्वरमा भएको ११ औं वनदेवी माई अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हरिवन युवा क्लबले जितेको छ।
बटेश्वर गाउँपालिकाको आयोजनामा सीतापुरमा बिहीबार सम्पन्न फाइनल खेलमा सल्हेस युवा क्लब, सिरहालाई २–१ गोलले पराजित गर्दै हरिवनले उपाधी हात पारेको हो।
हरिवनको जितमा रवि पासवान एक्लैले दुई गोल गरे।
नेपाल पुलिस क्लबमा आवद्ध रविले खेलको मध्यान्तरअघि र इन्जुरी समयमा गरी दुई गोल गरे। सल्हेसले भने आत्मघाती एक गोल उपहार पाएका थिए।
कर्नर बललाई ‘क्लियर’ गर्न खोज्दा हरिवनको रक्षापंक्तिका खेलाडी मानबहादुर नेपालीले आत्मघाती गोल गर्न पुगे।
विजेता हरिवन क्लबले शिल्डसहित एक लाख ५० हजार रुपैयाँ र उपबिजेता सल्हेस सिरहाले ५० हजार रुपैयाँ पाएको छ।
फाइनल खेलमा विजेता हरिवनका लागि दुई गोल गरेका रवि म्यान अफ दी म्याच बने।
पूर्व राष्ट्रिय खेलाडी एवं हरिवन युवा क्लबका जुमानु राई विशेष खेलाडीको सम्मानबाट सम्मानित भएका छन्।
त्यसैगरी हरिवनका दीपक लामा उत्कृष्ट प्रशिक्षक बने।
प्रतियोगिताको बिजेता, उपबिजेता, उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई नेपाली काँग्रेसका सह–महामन्त्री महेन्द्र यादव र मधेश प्रदेश सरकारका पर्यटनमन्त्री शत्रुधन महतोले पुरस्कार वितरण गरे।
कात्तिक ८ गते देखि सुरू भएको प्रतियोगितामा ८ वटा टिम सहभागी थियो।