डिफेन्डर जेरार्ड पिकेको अन्तिम खेलमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित निकालेको छ।
बार्सिलोनाले घरेलु मैदानमा अल्मेरियालाई २–० ले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। बार्सिलोनाको जितमा औसमाने डेम्वेले र फ्रान्की डि जोङले गोल गरे।
नोउ क्याम्पमा शनिबार राति भएको खेलको सातौं मिनेटमा रोबर्ट लेवान्डोस्की पेनाल्टीमा चुक्दा बार्सिलोना अग्रता लिनबाट चुक्यो। फेरान टोरेसको हेडर काइकीले हातले छोएको भन्दै रेफ्रीले भिएआरको सहायतामा बार्सिलोनालाई पेनाल्टी दिएका थिए। तर लेवान्डोस्कीको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो।
त्यसपछि बार्सिलोनाले पहिलो हाफसम्म गोलरहित बराबरी खेल्नुपर्यो। खेलको ४८औं मिनेटमा डेम्वेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए।
६२ औं मिनेटमा फ्रान्की डि जोङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे। अन्सु फातीको हाफ भली प्रहार गोलरक्षकले बचाउन नसक्दा रिवाउन्डमा डि जोङले गोल गरेका थिए।
त्यसपछि पनि अल्मेरियालाई लगातार दवावमा राखे पनि बार्सिलोनाले थप गोल गर्न सकेन।
यो जितसँगै बार्सिलोना १३ खेलबाट ३४ अंक जोडेर शीर्षस्थानमा उक्लन सफल भएको छ । बार्सिलोनाले एक खेल कम खेलेको रियल म्याड्रिडलाई २ अंकले पछि पारेको छ । १२ खेलबाट रियलको ३२ अंक छ । पराजित अल्मेरिया १३ अंक जोडेर १५औं स्थानमा छ ।
यहीँ खेलबाट डिफेन्डर पिकेले व्यवसायिक खेल करिअरबाट सन्यास लिएका छन्। अल्मेरियाविरूद्ध पिकेलाई नै कप्तानीको जिम्मेवारी दिएको थियो। उनलाई आन्द्रे क्रिस्टेन्सेनले ८४ औं मिनेटमा प्रतिस्थापन गरेका थिए।
उनलाई नोउ क्याम्पमा हजारौं समर्थकमाझ क्लबले सुखद् बिदाई गरेको छ। आफ्ना सबै सहकर्मी, प्रशिक्षक जाभी र बार्साको सम्पूर्ण बेन्चलाई उनले अँगालो हालेका थिए।
खेल सकिएपछि उनले मैदानमै भने ‘म यहीँ जन्मेँ र यहीँ मर्नेछु।’
‘म बार्सिलोनालाई माया गर्छु। त्यसैले म यसलाई बाहिरिने सही समय मान्छु। तर यो बिदाइ होइन,’ उनले भने।
उनले फेरि पनि कुनै न कुनै माध्यमबाट बार्सिलोनासँग आफू जोडिने बताए। ‘जब तपाईँ बूढो हुनुहुन्छ, तपाईँले त्यतिबेला महसुस गर्नुहुन्छ कि कहिलेकाहीँ प्रेम गर्न छोड्नुपर्छ। म विश्वस्त छु कि म भविष्यमा फेरि यहाँ आउनेछु,’ उनले भने।
उनलाई कप्तान नियुक्त गरेसँगै खेल्नु अगाडिको टिम फोटोमा उनका दुई छोराहरू पनि थिए।
मैदानमा एउटा ब्यानर राखेर टिम फोटो खिचेका थिए। त्यसमा लेखिएको थियो- 'सेमप्र३' (फर३वर) । यस्तै मैदानमा पिकेको करियरबारे एक भिडिओसमेत ठूलो पर्दामा देखाइएको थियो।
३५ वर्षिय पिकेले यसै साता अल्मेरियाविरूद्धको खेल आफ्नो व्यवसायिक करिअरको अन्तिम खेल हुने बताएका थिए।
पूर्व स्पेन डिफेन्डरले आफ्नो सम्झौता सकिन अझै १८ महिना बाँकी रहेको अवस्थामा सन्यास लिने घोषणा गरेका हुन्। आफ्नो बहिर्गमनले क्लबलाई पनि केही आर्थिक राहत मिल्ने उनले बताएका थिए।
म्यानचेस्टर युनाइटेडबाट २००८ मा बार्सामा आवद्ध भएपछि पिकेले बार्साका लागि ६१६ खेल खेल्दै ३० उपाधि जितेका छन्।
उनी बार्साका लागि सर्वाधिक उपाधि जित्ने तेस्रो खेलाडी हुन्। उनीभन्दा अगाडि मेसी (३५) र इनिएस्टा (३२) ले मात्र सर्वाधिक उपाधि जितेका छन्।
यस्तै उनी बार्सिलोनाका लागि पाँचौ सबैभन्दा धेरै खेल खेल्ने खेलाडी हुन्।
उनीभन्दा माथि लियोनेल मेसी (७७८), म्यानेजर जाभी हर्नान्डेज (७६७), वर्तमान बार्सिलोनाका मिडफिल्डर सर्जियो बुस्केट्स (६९४) र एन्ड्रेस इनिएस्टा (६७४) छन्।
पिकेले स्पेनको राष्ट्रिय टोलीबाट सन् २०१८ मा सन्यास लिनुअघि सन् २०१० को विश्वकप र युरो २०१२ को जितमा पनि सहभागी थिए। उनले स्पेनबाट १०२ अन्तर्राष्ट्रिय खेल खेलेका थिए।
उनले म्यानचेस्टर युनाइटेडमा आफ्नो सिनियर करियर सुरू गर्दै २३ खेल खेलेका थिए।