अघिल्लो सिजनमा च्याम्पियन्स लिगको फाइनलमा भिडेका रियल म्याड्रिड र लिभरपुल यस पटक प्रि क्वार्टरफाइनलमै भिड्ने भएका छन्।
युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सोमबार सार्वजनिक भएको नकआउट चरणको ड्र मा रियल म्याड्रिड र लिभरपुल अन्तिम १६ मै भिड्नै भएका हुन्।
चौध पटकको बिजेता रियल म्याड्रिडले गत वर्ष पेरिसमा भएको फाइनलमा लिभरपुललाई १–० ले हराएको थियो।
यस्तै अर्को उपाधिका दावेदार बायर्न म्युनिख र पेरिस सेन्ट जर्मेन पनि अन्तिम १६ मै आमने सामने हुने भएका छन्।
८ समूहको शीर्ष २ टोलीलाई स्विटजरल्यान्डको न्योनस्थित युरोपेली फुटबलको मुख्यालयमा ड्र गरिएको थियो।
चार-चार इंग्लिस र जर्मन क्लब, तीन सिरी ‘ए’ क्लब, दुई पोर्चुगिज क्लब र स्पेनिस, फ्रेन्च र बेल्जियन क्लबका एक एक टोली नकआउट चरणमा पुगेका थिए।
ड्रमा समूह विजेता र समूह उपविजेताको दुई पोल राखिएको थियो। हरेक समूह विजेताले अर्को कुनै समूहको उपविजेतासँग खेल्ने गरि ड्र सार्वजनिक गरिएको हो। प्रि क्वाटरफाइनलमा एकै देशका दुई क्लब नभिड्ने र एकै समूह क्लब पनि आमने सामने भएका छैनन्।
राउन्ड अफ १६ का खेलहरु आगामी फेब्रुअरी तेस्रो साताबाट सुरू हुनेछ। पहिलो लेग फेब्रुअरी १४, १५, २१ र २२ तारिखमा हुनेछन्। दोस्रो लेग मार्च ७, ८, १४ र १५ तारिखमा खेलिनेछ।
च्याम्पियन्स लिगमा अवे गोलको नियम हटाइएकाले दोस्रो लेग समाप्तिमा स्कोर बराबरी हुँदा अतिरिक्त समय र पेनाल्टीमा खेल हुनेछ।
यसपटक च्याम्पियन्स लिगको फाइनल खेल टर्कीमा हुनेछ । इस्तानबुलमा हुने फाइनल खेल १० जुन २०२३ मा खेलिनेछ ।
हेर्नुहोस् यस्तो छ ड्र
- म्यानचेस्टर सिटी विरुद्ध आरबी लाइप्जिग
- बेन्फिका विरुद्ध क्लब ब्रुजा
- रियल म्याड्रिड विरुद्ध लिभरपुल
- टोटेनहम हट्सपर विरुद्ध एसी मिलान
- नेपोली विरुद्ध आइनट्राक्ट फ्रान्कफर्ट
- चेल्सी विरुद्ध बोरुसिया डर्टमुन्ड
- एफसी पोर्टो विरुद्ध इन्टर मिलान
- बायर्न म्युनिख विरुद्ध पेरिस सेन्ट जर्मेन