बंगलादेशमा जारी साफ यु- १५ महिला च्याम्पियनसिपमा लगातार तेस्रो जित निकाल्दै नेपाल उपाधि नजिक पुगेको छ।
बुधबार भएको आफ्नो तेस्रो खेलमा कमजोर प्रतिद्वन्द्वी भुटानमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै नेपालले ३ खेलबाट ९ अंक जोड्दै शीर्ष स्थानमा कायमै रहेको हो।
बंगलादेशको ढाकास्थित बीएसएसएसएमके स्टेडियममा नेपाललाई जिताउन सेनु परियारले निर्णायक गोल गरिन्।
पहिलो हाफसम्म गोलरहित बराबरी रहेको खेलको ४९ औं मिनेटमा सेनुले गोल गरेकी हुन्।
भुटानमाथि लिगको पहिलो खेलमा ७–० को फराकिलो जित निकालेको नेपालले आज दोस्रो खेलमा कठिन जित निकाल्यो।
यो जितसँगै नेपालको ३ खेलबाट ९ अंक पुगेको छ। समान खेलबाटै घरेलु टोली बंगलादेशको ६ अंक छ। लगातार चौथो खेलमा हार भोगेको भुटान गोल र अंकविहीन हुँदै बाहिरिएको छ।
अब नेपाललाई च्याम्पियन बन्न अन्तिम खेलमा बंगलादेशविरूद्ध बराबरीको नतिजा नै पर्याप्त हुनेछ। नेपाल र बंगलादेशबीचको खेल शुक्रबार हुनेछ।
तीन राष्ट्रले मात्र सहभागिता जनाएको प्रतियोगिता डबल राउन्ड रोबिन पद्दतिमा भइरहेको छ। लिगको अन्त्यमा सबैभन्दा बढी अंक पाउने टोली विजेता बन्नेछ।