हिजाबविरूद्ध मुलुकमा जारी महिला आन्दोलनको पक्षमा समर्थन जनाउन इरानका बिच फुटबलरले राष्ट्रगान गाउन अस्वीकार गरेका छन्।
दुबईमा पाँच दिनअघि भएको अन्तर महादेशीय बिच सोसर कपमा ब्राजिलविरूद्धको खेलमा सहभागी अधिकांश खेलाडीले राष्ट्रिय गान बज्दा मौन बसेका हुन्।
खेलमा प्रतिद्वन्द्वी ब्राजिलविरूद्ध गोल गरेपछि साहिद पिरामोनले गरेको सेलिब्रेसन पनि भाइरल भएको छ। उनले महिलामाथि अनिवार्य गरिएको हिजाब हटाउनुपर्ने र महिलाको टाउको पनि पुरुषकोझैं खुला रहनुपर्ने संकेत गरेका थिए।
राजधानी तेहरानमा हिजाब नलगाएको भन्दै २२ वर्षीया मासा अमिनीलाई प्रहरीले निर्ममतापूर्वक कुट्दा उनको मृत्यु भएको थियो।
त्यसपछि हिजाबविरूद्ध इरानमा महिला आन्दोलन चर्किएको हो। आन्दोलनमा सरकारी पक्षबाट दमन हुँदा ३ सय जनाभन्दा बढीको ज्यान गइसकेको छ। इरानमा सन् २००९ पछि यो नै सबैभन्दा ठूलो आन्दोलन रहेको बीबीसीले जनाएको छ।