गोलकिपर सुजता तामाङले अन्तिम मिनेटमा पेनाल्टी बचाउँदै नेपालाई साफ यु १५ महिला च्याम्पियनसिपको उपाधि दिलाएकी छन्।
तीन राष्ट्र सहभागी प्रतियोगितामा डबल राउन्ड रोबिन पद्धतिमा भएकाले शीर्ष स्थानमा रहने टाेली च्याम्पियन बन्ने थियाे।
तीन खेलमा नाै अंक जाेडेकाे नेपाललाई बराबरीकाे नतिजा पर्याप्त भए पनि बंगलादेशलाई स्पष्ट जित आवश्यक थियो।
यस्तोमा घरेलु टोलीले पाएको पेनाल्टीलाई सुजाताले रोक्दै नेपाललाई हारबाट जोगाएर च्याम्पियन बनाउन सफल भएकी हुन्।
चार खेलमा तीन जित र एक बराबरीपछि १० अंकसहित शीर्ष स्थानमा रहँदै नेपाल च्याम्पियन बन्यो। समान खेलमा सात अंक जोडेको बंगलादेश उपविजेता बन्यो। भुटानले भने चार खेलमा अंकको खाता खोल्न सकेन।
पहिलो खेलमा भुटानलाई ७-० ले हराएको नेपालले दोस्रो खेलमा बंगलादेशलाई १-० ले निराश पारेको थियो। तेस्रो खेलमा नेपालले भुटानलाई १-० ले पन्छाएको थियो।
यता भुटानमाथिको दुई खेल क्रमशः ८-० र ९-० ले जितेको बंगलादेशलाई नेपालसँगको १-० को हार महंगो साबित भयो।
ढाकास्थित बीएसएसएसएमके स्टेडियममा शुक्रबार भएको खेलको १४औं मिनेटमा सुशिला केसीको गोलमा नेपालले अग्रता लिएको थियो। ५४औं मिनेटमा रुमा अख्तरले बंगलादेशलाई खेलमा फर्काएकी थिइन्।
८९औं मिनेटमा बंगलादेशले पेनाल्टीको अवसर पाए पनि बिबि रिताले त्यसको सुदुपयोग गर्न सकिनन्। उनको प्रहार नेपालकी गोलकिपर सुजता तामाङले विफल पारेकी थिइन्।
श्रीमोती तृष्णा रानीको क्रसलाई पेनाल्टी बक्समा विपना स्नेहीले ह्यान्ड गरेपछि बंगलादेशले पेनाल्टी पाएको थियो।
हेर्नुहोस् तस्बिरहरू