इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले छैठौं जित निकालेको छ। गए राति एनफिल्डमा भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ३-१ गोल अन्तरले हराएको हो।
खेलको छैठौं मिनेटमा रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई सुरूआती अग्रता दिलाएका थिए। तर, खेलको नवौं मिनेटमा चे एडम्सले गोल गर्दै साउथह्याम्पटनलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि लिभरपुलका डार्विन नुनेज नायक बने।
उरूग्वेका फरवार्ड नुनेजले हाफ टाइमअघि दुई गोल गर्दै लिभरपुललाई खेलको नियन्त्रणमा राखे। खेलको २१ औं मिनेटमा नुनेजले गोल गर्दै लिभरपुललाई २-१ ले अग्रता दिलाए ।
४२ औं मिनेटमा नुनेजले व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुल पहिलो हाफमै ३-१ अग्रता बनाउन सफल भयो।
दोस्रो हाफमा दुबै टोलीले गोलका केही राम्रा अवसर सिर्जना गरेपनि सदुपयोग गर्न सकेनन्।
जितसँगै लिभरपुलले १४ खेलमा २२ अंक जोडेर छैठौं स्थानमा छ। यता, साउथह्याम्पटन १२ अंक जोडेर १९ औं स्थानमा छ।