पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो क्लबविहिन भएसँगै स्पेनिस क्लब रियल म्याड्रिड पुगेर प्रशिक्षण गरिरहेका छन्।
कतार विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिएपछि म्यानचेस्टर युनाइटेड छोडिसकेका उनले रियल म्याड्रिडबाट अभ्यास थालेका हुन्।
उनी आफ्नो फिटनेसका लागि रियल म्याड्रिडको प्रशिक्षणस्थलमा रहेको बिबीसीले जनाएको छ। रोनाल्डो रियलको प्रशिक्षणस्थल भाल्देबेबासमा एक्लै प्रशिक्षण गरिरहेका थिए।
साउदी अरेबियाको क्लब अल-नासरले ३७ वर्षीय फरवार्डका लागि ठूलो रकमको प्रस्ताव राखे पनि उनले अन्य विकल्पहरू खोजिरहेका छन्।
पाँच पटकको बालोन डी'ओर विजेता रोनाल्डोले म्यानचेस्टर युनाइटेडको दोस्रो यात्रा केही समय अगाडि मात्रै टुंग्याएका थिए।
कतार विश्वकपमा रोनाल्डोका लागि विश्वकप जित्ने अन्तिम मौका हुने अपेक्षा गरिएको थियो तर सोचे अनुसारको प्रदर्शन नहुँदा सेमिफाइनल नपुग्दै घर फर्कनुपर्यो।
पोर्चुगलको विश्वकपबाट बाहिरिएसँगै विश्रामको सट्टा उनले प्रशिक्षणलाई ध्यान दिएकाले रोनाल्डो चाँडो भन्दा चाँडो नयाँ क्लबमा सामेल हुन तयार रहेको संकेत दिएका छन्।
यद्यपि, उनी रियलबाट खेल्ने छैनन्। रियलमा रहँदा सर्वाधिक गोलकर्ता रोनाल्डोले ४३८ खेलबाट ४५० गोल गरेका थिए। जुन समयमा उनले चार पटक च्याम्पियन्स लिग र दुई पटक ला लिगा जितेका छन्।
रोनाल्डोले सन् २००९ मा म्यानचेस्टर युनाइटेडबाट रियलमा तत्कालीन विश्व कीर्तिमान बनाए र २०१८ मा युभेन्टस गए।
विश्वकपबाट एक महान् फुटबलरको पीडादायक बिदाइ