स्पेनिस फुटबल क्लब दुई मैत्रीपूर्ण खेलका लागि नेपाल भ्रमणमा आउने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) र कास्की जिल्ला फुटबल संघसँगको सहकार्यमा ‘शान्तिका लागि फुटबल’ भन्ने नाराका साथ दुई मैत्रीपूर्ण खेल्न स्पेनको काथेरेन्यो फुटबल क्लब नेपाल भ्रमणमा आउन लागेको हो।
क्लबले काठमाडौं र पोखरामा एक/एक मैत्रीपूर्ण खेल खेल्ने तयारी भएको आयोजक लुम्बिनी गार्डेन फाउन्डेसनका महासचिव एकराज गिरीले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराए।
खेल पोखरा रंगशाला र दशरथ रंगशालामा हुनेछन्। काथेरेन्यो फुटबल क्लब र गण्डकी–११ बीचको मैत्रीपूर्ण खेल पुस १३ गते पोखरा रंगशालामा हुनेछ। यसैगरी पुस १४ गते दशरथ रंगशालामा काठमाडौं–११ सँग दोस्रो मैत्रीपूर्ण खेल हुने तालिका छ।
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङले गण्डकी–११ फुटबल टिमको कप्तानी जिम्मेवारी पाएका छन्। टोलीको प्रशिक्षणमा पोखराबासी राजेन्द्र तामाङ हुनेछन्। यसैगरी काठमाडौं–११ को टिम पूर्वकप्तान विराज महर्जनको नेतृत्वमा रहनेछ। काठमाडौं टिमको प्रशिक्षकमा मेघराज केसी छन् ।
स्पेनको राष्ट्रिय टोलीबाट खेलिसकेका म्यानुयल सान्चेज डेल्गाडो (मोनोलो) नेपाल भ्रमण टोलीमा हुनेछन्। सन् १९८८ देखि १९९२ सम्म स्पेनको राष्ट्रिय टोलीबाट खेल्ने क्रममा स्ट्राइकर मोनोलोले २८ अन्तर्राष्ट्रिय खेलमा ९ गोल गरेका थिए। विश्वकप १९९० मा मोनोलो स्पेनिस टिमको मुख्य खेलाडी थिए।