इंग्लिस क्लब लिभरपुलले नेदरल्यान्ड्सका विंगर कोडी गाक्पोलाई पीएसभीबाट भित्र्याउने भएको छ। डच क्लब पीएसभीले लिभरपुलले गाक्पोलाई अनुबन्ध गर्न सहमत भएको जनाएको हो।
२३ वर्षीय गाक्पोले नेदरल्यान्ड्सलाई फिफा विश्वकप २०२२ को क्वार्टरफाइनलसम्म पुर्याउन तीन गोल गर्दै कतारमा प्रभावशाली खेल देखाएका थिए।
उनको सम्झौता मुल्य ४० मिलियनदेखि ५० मिलियन युरोको बीचमा हुने अपेक्षा गरिएको छ।
पीएसभीले गाक्पो सम्झौता पूरा गर्न इंग्ल्यान्ड जाने जनाएको छ। पीएसभीका लागि यो कीर्तिमानी स्थानान्तरण हुनेछ।
लिभरपुलले फरवार्ड लुइस डियाज र डियगो जोटासँगै खेल्न गाक्पोलाई भित्र्याउन लागेको हो। उनी यो सिजन राम्रो फर्ममा छन्।उनले क्लबका लागि १४ लिग खेलमा नौ गोल र १२ असिस्ट प्रदान गरेका छन्।
उनले युरोपा लिगका पाँच खेलमा तीन गोल र दुई असिस्ट पनि गरेका छन्।
विश्वकपमा उनले सेनेगल, इक्वेडर र कतारविरुद्ध गोल गरेका थिए।
लिभरपुलले सोमबार एस्टन भिल्लालाई ३-१ ले पराजित गरेको छ। जुर्गेन क्लोपको टोली छैटौं स्थानमा छ।