राष्ट्रिय टिमका फरवार्ड अन्जन विष्ट सहिद स्मारक ए डिभिजन लिगको नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेडमा आबद्ध भएका छन्।
मंगलबार राति मात्र अन्जनले आफूले मनाङ मर्स्याङ्दी क्लब छाडेको घोषणा गरेका थिए। लामो समय मनाङबाट खेल्दा उनले लिगको उपाधिसहित दर्जनौं प्रतियोगिता जितेका थिए।
पछिल्लो समय उनी मनाङको कप्तान थिए। मनाङ छाड्दा उनले आफूलाई निकै दुख लागेको बताएका थिए।
'सानोमा फुटबल खेल्न सुरू गर्दादेखि नै ठूलो भएर एकदिन मनाङ मर्स्याङ्दी क्लबबाट खेल्ने सपना देखेको थिएँ र पहिलोपटक मनाङको जर्सी लगाएर खेल्दा निकै भाग्यमानी ठानेको थिएँ, विगतका केही बर्षमा बिनास्वार्थ यस क्लबबाट खेल्दै, पछिल्लो केही बर्षयता कप्तानी सम्हाल्ने मौका पाउँदै आएको थिएँ,' उनको भनाइ थियो।
'जुन क्लबलाई मनदेखि आफ्नो दोस्रो घर सोचेर अगाडी बढेको थिएँ, त्यसमा केही व्यक्तिले क्लबलाई आफ्नो स्वार्थअनुसार चलाउन खोजेपछि पटकपटक राम्रो हुन्छ कि सोच्दा समेत व्यक्तिगत स्वार्थअनुसार क्लबको हितभन्दा आफू अनुसार क्लबलाई चलाउन खोजेपछि, खेलाडीको मनोबल गिराउने कार्य हुन थालेपछी बाध्य भएर दुःखी मनका साथ यस क्लबसँगको सहकार्य टुंग्याउने निधो गरेको छु।'
उनले मनाङ छाडेको भोलिपल्ट चर्च ब्वाइजले अन्जनसँग सम्झौता भएको सार्वजनिक गरेको हो। उनीसँग एक वर्षको सम्झौता भएको चर्च ब्वाइजको भनाइ छ।
२४ वर्षीय अन्जनले नेपालका लागि ११ अन्तर्राष्ट्रिय गोल गरेका छन्।
चर्च ब्वाइजको ए डिभिजन यात्रा
चर्च ब्वाइज गत चैतमा बी डिभिजनबाट ए डिभिजनमा बढुवा भएको हो।
चर्च ब्वाइजले २०६० साल ताका फुटबल खेल्न सुरू गरेको थियो। उसले पूर्वका विभिन्न प्रतियोगितामा समेत भाग लिएको थियो।
२०६६ सालमा भने क्लबलाई औपचारिक रूपमा दर्ता गरियो। सुरूमा मोरङ उर्लाबारीको क्लबको रूपमा चिनिएको चर्च ब्वाइजको दर्ता भने ललितपुर जिल्ला खेलकुद विकास समितिमा भएको छ। कार्यालय ललितपुरकै बालकुमारी राखिएको छ।
औपचारिक रूपमा क्लब दर्ता गरेपछि चर्च ब्वाइजले सी डिभिजन छनोट खेल्न थाल्यो।
सुरूमा सी डिभिजनको छनोट खेल्दा क्लब धेरै वर्षसम्म सफल हुन सकेन। लामो प्रयासपछि २०७६ मा सी डिभिजनको छनोट पार गर्दै चर्च ब्वाइज सी डिभिजन क्लब बन्न सफल भयो। त्यसपछि २०७७ मा सी डिभिजन च्याम्पियन हुँदै बी डिभिजनमा पुग्यो।
गत सिजन एक खेल अगावै बी डिभिजन च्याम्पियन भएर शीर्ष डिभिजनमा उक्लियो।
गत सिजन प्रशिक्षकको भूमिकामा राष्ट्रिय टिमका खेलाडी विक्रम लामा रहदा क्लबलाई थप बल पुग्यो।
सुरुवाती वर्षमा क्लबले सी डिभिजन छनोट खेल्दा ए डिभिजन खेलिसकेका खेलाडीलाई समेत भित्र्याएको थियो। साथै स्थानीय (उर्लाबारी) खेलाडीले क्लबबाट निरन्तर खेल्दा सफलता मिल्दै गयो।
सी डिभिजन छनोट र सी डिभिजन लिग खेल्दा क्लबको आर्थिक पक्ष सहयोग रकमले चलेको थियो।
चर्च ब्वाइज लगातार एक तह बढुवा हुँदै ए डिभिजनमा पुग्न सफल नेपालको चौथो क्लब हो। यसअघि हिमालयन शेर्पा, मनाङ मर्स्याङ्दी र थ्रीस्टार क्लबले पनि लगातार एक श्रेणी बढुवा भएर ए डिभिजनसम्मको यात्रा गरेका थिए।