स्पेनको कोपा डेल रे फुटबल प्रतियोगिताको अन्तिम ३२ का खेलहरु आगामी सातादेखि सुरु हुँदैछ।
अन्तिम ३२ को खेलमा जनावरी ४ मा रियल म्याड्रिडसँग भिड्नुअघि स्पेनको दोस्रो डिभिजनको फुटबल क्लब कासेरेन्यो नेपाल भ्रमणमा छ।
बुधबार उसले पोखरामा मैत्रीपूर्ण खेल खेल्यो।
मैत्रीपूर्ण फुटबल खेलमा कासेरेन्योले गण्डकी–११ माथि सहज जित हासिल गर्यो।
पोखरा रङ्गशालास्थित फुटबल रङ्गशालामा आज सम्पन्न खेलमा पाहुना टोली कासेरेन्योले गण्डकीमाथि ३–० को जित निकाल्दै घरेलु टोलीलाई निरास पारेको हो।
कासेरेन्योले खेलको पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरी सहज जित निकाल्यो। कासेरेन्योको जितमा कार्मेलो, मिचेल कारिलेरो र बेर्मुले समान एक-एक गोल गरे।
खेलको २३औँ मिनेटमा कार्मेलोले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएकोमा ३०औँ मिनेटमा मिगुएलले गोल गर्दै अग्रता दोब्बर बनाए। खेलको ९०औँ मिनेटमा बेर्मुले गोल गरेपछि घरेलु टोलीलाई फराकिलो अन्तरले हराउँदै कासेन्योले खेल जितेको हो।
‘शान्तिका लागि फुटबल’भन्ने मूल नाराका साथ लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा स्पेनिसल टोली मैत्रीपूर्ण खेलका लागि पोखरा आएको हो। स्पेनको टोलीमा केही विश्वकप खेलिसकेका खेलाडीसमेत आबद्ध थिए।
खेलपछि स्पेनका प्रशिक्षक जुलिओ कोबोसले नेपाल आएर खेल्न पाउँदा खुसी लागेको बताए। उनले नेपाली टोलीको तीव्र गतिमा खेल्ने शैली आफूहरूलाई मन परेको उल्लेख गरे।
गण्डकीका प्रशिक्षक राजेन्द्र तामाङले स्पेनिस टोलीले शारीरिक र प्राविधिकरुपमा राम्रो खेलेको बताउँदै आफ्नो टोलीले केही सिक्ने अवसर प्राप्त गरेको बताए।
गण्डकीका कप्तान अनिल गुरुङले स्पेनको बी डिभिजनको उत्कृष्टमध्येको एक क्लबसँग पोखरामा फुटबल खेल्न पाउनु खेलाडी र दर्शकका लागि ठूलो उपलब्धि भएको बताउँदै यस खेलले आगामी दिनमा थप खेल खेल्नका लागि सुरुआत भएको बताए।