फिफा विश्वकप २०२२ का खेल घरमै बसेर टेलिभिजनमा हेर्न बाध्य भएका नर्वेजिन स्ट्राइकर इर्लिङ हाल्यान्डले प्रिमियर लिगमा यो सिजन धेरै गोल सोच बनाएका छन्।
आफ्नो देश नर्वे विश्वकपमा छनोट हुन नसकेपछि इंग्लिस क्लब म्यानचेस्टर सिटीका स्ट्राइकर हाल्यान्डले फिफा विश्वकप २०२२ का खेल घरमै बसेर हेर्न बाध्य भएका थिए।
बुधबार लिड्स युनाइटेडविरुद्ध दुई गोल गरेसँगै हाल्यान्डले प्रिमियर लिगमा २० गोल पूरा गरे। यससँगै उनले प्रिमियर लिगमा सबैभन्दा छिटो २० गोल गर्ने कीर्तिमान बनाए। उनले १४ खेलमै यो कीर्तिमान बनाएका हुन्।
यसअघि सन् १९९९-२००० को सिजनमा सन्डरल्यान्डका लागि केभिन फिलिप्सले यो कीर्तिमान बनाएका थिए। त्यतिबेला उनले २१ खेलमा २० गोल गरेका थिए। हाल्यान्डले भने फिलिप्सको भन्दा सात खेलअघि नै कीर्तिमान बनाउन सफल भए।
बुधबार दुई गोल गरे पनि सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले हाल्यान्ड अझै ‘राम्रो अवस्थामा’ नभएको बताए।
यसअघि हाल्यान्डले अमेजन प्राइमसँग कुरा गर्दै विश्वकप बारेमा प्रतिक्रिया दिएका थिए।
‘म घरमै थिएँ, विश्वकप खेल्न नसकेकोमा पागल जस्तै भएको थिएँ’ उनले भनेका थिए, ‘विश्वकपमा खेल जित्नका लागि अरूले गोल गरेको हेर्दा मलाई उत्प्रेरित गर्थ्यो। कहिलेकाँहि रिस पनि उठ्थ्यो। म धेरै भोकाएको छु र पहिलेभन्दा धेरै तयार छु।’
इंग्ल्यान्डको लिड्समै जन्मिएका हाल्यान्ड बाल्यकाल्यमा लिड्सका समर्थक थिए। उनका बुबाले लिड्स र म्यानचेस्टर सिटी दुवै क्लबबाट खेलेका थिए।
बुधबार लिड्सविरुद्ध खेलेर गोल गरेपछि उनले करिअरको विशेष क्षण मध्ये एक भएको प्रतिक्रिया दिए।
यो सिजन जर्मन क्लब बोरुसिया डर्टमन्डबाट ५१.२ मिलियन पाउन्डमा सिटीमा आएका हाल्यान्डको खेलबाट प्रशिक्षक ग्वार्डिओला खुसी छन्।
तर पनि हाल्यान्ड अझै उत्कृष्ट लयमा नभएको ग्वार्डिओला बताउँछन्।
‘उनी अझै पनि आफ्नो उत्कृष्ट लयमा छैनन्, जसरी उनी सिजनको सुरुमा थिए,’ सिटीका प्रशिक्षक ग्वार्डिओलाले भने।