आयोजक सहारा क्लब पोखरालाई हराउँदै धरान एफसी आहा रारा पोखरा गोल्डकपको अन्तिम आठमा पुगेको छ।
पोखरा रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा धरानले सहारालाई १-० गोलले हरायो। धरानको जितमा प्रकाश बुढाथोकीकले खेलको पाँचौ मिनेटमा फ्रिकिकमार्फत गोल गरेका थिए।
अब धरानले अन्तिम आठमा एपिएफविरुद्ध खेल्नेछ।
पुस २३ गतेसम्म हुने २२औँ संस्करणको फुटबल प्रतियोगितामा पोखरा रंगशालामा एक विदेशीसहित १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
आयोजक सहारा क्लब र धरानसहित प्रतियोगितामा साविक विजेता एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, भुटनिज युथ स्पोर्ट्स क्लब युएसए, नेपाल पुलिस क्लब र सङ्कटा क्लबको सहभागिता हुनेछ।
आयोजक सहाराले यस पटकको संस्करणमा पुरस्कार राशिमा वृद्धि गरेको छ। विजेताले रु १२ लाख र उपविजेताले रु छ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन्।
यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान इलेक्ट्रिक स्कुटर तथा उत्कृष्ट, डिफेण्ड, गोलकिपर, फरवार्ड, मिडफिल्डर र प्रशिक्षकले जनही रु २५ हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगिताको सर्वाधिक गोलकर्ताले रु २५ हजार र हरेक खेलको ‘म्यान अफ द म्याच’ ले रु आठ हजार पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगितामा बचत रकम क्लबबाट सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिनेछ। हाल तेस्रो ब्याचको सो एकेडेमीमा १० जिल्लाका १३ बालकले आवासिय रुपमा फुटबल खेल्दै शिक्षा प्राप्त गरिरहेका छन्।