प्रिय एडसन,
धैर्यतापूर्वक सुन।
जब परिवार त्रेस क्रोवासोयसमा बसाइँ सर्नेछ। आफूसँगसँगै आमाका मोजा लैजानु। तिमी कलिलै छौँ। पाँच वर्षको मात्रै भयौ। तिमीले मोजा नभुल्नु। यदि भुल्यौ भने तिमीले तिम्रो भविष्य भुल्नेछौ।
तिमी तिम्रो पिताको कारण बारु भन्ने सानो सहरमा जाँदैछौ। यो सहरमा तिमीले आफ्नो बुवाले फुटबल क्लब बारु एट्लेटिकोबाट फुटबल खेलेको नियाल्न पाउनेछौ।
तिम्रो परिवारको त्यहाँ सानो घर हुनेछ। तिम्रो भाइ र तिमीले एउटै ओछ्यानमा सुत्नुपर्नेछ। मलाई थाहा छ, सधैँ यो कुरा सहज हुनेछैन। तर यसले दाजुभाइको सम्बन्ध जरुर घनिष्ठ बनाउनेछ।
घरको आँगनमा कुनै घाँस हुनेछैन। धुलौटे माटो र बालुवा हुनेछ।
यहि धुलौटे प्रांगण तिम्रा लागि पहिलो फुटबल मैदान हुनेछ। धुलोबाट उठ्ने भन्छन् नि! हो त्यस्तै धुलौटे प्रांगणबाटै सिकेर तिमीले ठूला मैदानमा फुटबल खेल्नेछौ।
अहिलेको लागि घरअघिकै धुलौटे प्रांगण तिम्रा लागि रंगशाला हो, जहाँ तिम्रा साथीहरूले बाँस काटेर गोलपोस्ट बनाउनेछन् र तिमी त्यहाँ गोल वर्षाउने प्रयत्न गर्नेछौ।
याद गर तिमीसँग फुटबल किन्न लागि पैसा हुनेछैन। परिवारसँग सीमित आय भएकाले तिमीले आमाका मोजामा पुराना अखबार खाँदेर फुटबल बनाउनुपर्नेछ। त्यो बल पक्कै चिटिक्क आकारको त हुनेछैन। तर तिमी र तिम्रा साथीहरूले त्यहि बलमा अभ्यास गर्नुपर्नेछ।
तिमीले नांगै खुट्टा खेल्नुपर्नेछ। खेल्दै जाँदा तिमीले पानी भरिएका खाल्डाको सामना गर्नुपर्छ। मलाई थाहा छ तीनै खाल्डा तिम्रो पहिलो डिफेन्डर हुनेछन्।
यो पत्र थाँती राखेर पहिले तिमीले तिम्रो आमासँग माफी माग्नु। किनकी फुटबल बनाउँनकै निम्ति तिमीले आमाका धेरै मोजा प्रयोग गरेका छौं।
तिम्री आमा असाध्यै अप्ठेरो छिन्। आमासँग घरमा आफ्ना इच्छाबारे कहिल्यै कुरा नगर्नु। यदि गर्यौ भने तिम्री आमाले पक्कै तिमीलाई भन्नेछिन्-‘तिमी मेरो घरमा छौँ र यहाँ मैले भनेको कुरामा छलफल गर्नुपर्छ।’
हाम्रो घरको मालिक्नी नै तिम्री आमा हुन्। तिम्रा बुवा त फुटबल क्लबमै व्यस्त हुन्छ।
तिमीहरूका लागि पैसा बचाउने, खान खुवाउने किताबदेखि जुत्ता किनिदिने उनै हुन्। आमाले तिमीलाई जहिल्यै पनि महत्वपूर्ण पाठ पढाउँनेछिन्।
त्योमध्ये आँपको रूखसँग गाँसिएको शिक्षा कहिल्यै नभुल्नु।
एक दिन तिमीले पक्कै छिमेकीको घरको रूखबाट आँप ल्याउनेछौ।
तिम्री आमाले पक्कै सोध्नेछिन्-‘यो आँप कहाँबाट ल्यायौ?’
तिमीले पक्कै भन्ने छौँ- मैले सडक छेउकै डोना मारियाकाबाट ल्याएको।
आमाले तिमीलाई सोध्नेछिन्-‘के तिमीले डोनालाई सोध्यौँ?’
तिमीले निश्चय नै सोधेँ भने पनि तिम्री आमाले पक्का गर्नका लागि तिमीलाई फेरि भन्नेछिन्-‘ठीकै छ डिको त्यसो भए मारियालाई सोध्न जाऔँ तिमीले भनेको कुरा सत्य हो वा झुटो।’
तिम्री आमाले यसो गर्नुका पछि कारण छ। याद गर एड्सन आमाले आँप ल्याएको विषयमा होइन मानिसलाई गर्नुपर्ने सम्मान सिकाउनका लागि तिमीलाई पक्कै यसो भन्नेछिन्।
अब तिम्रो बुवा बारे कुरा गरौँ। तिम्रो बुवाले धेरैपटक तिमीले धुलौटे प्रांगणमा फुटबल खेलेको हेर्नेछ। तिमीले त्यहाँ गोल पनि गरौला। तर मैले भन्नेछु-अझै राम्रो गर।
म तिमीसँग रिसाउन पनि सक्छु। यसका पछि कारण छ।
मैदानमा गोल गर्नुमात्रै ठूलो कुरा होइन। विपक्षीलाई हायलकायल पार्न गोल गरेर मात्रै पुग्दैन। त्यसका अतिरिक्त अन्य कौशल पनि तिमीले सिक्नुपर्नेछ। यो मेरो सुझाव सधैँ स्मरण गर्नु। जब तिमी तिम्रो पिता झैँ सान्तोष फुटबल क्लबबाट खेल्नेछौँ। यसले तिम्रो जीवनलाई नै परिवर्तन गर्न सघाउँछ।
निश्चिन्त हौँ र धैर्य गर एडसन। एक दिन तिमी तहल्का पिट्ने व्यवसायीक फुटबलर जरूर बन्नेछौ।
तिम्रो म्याच नियालेपछि तिम्रो बुवाले तिमीलाई सोध्नेछ -तिमीले खराब पास खेल्यौँ, किन?’
तिमीले भन्न सक्छौँ - ‘तर बुवा हामीले चार गोल गर्यौँ।’
मैले फेरि भन्न सक्छु - ‘तिमीले अझै राम्रो गर्नुपर्छ।’
स्मरण गर्नु तिम्रो बुवा निकै प्रतिस्पर्धी व्यक्ति हो। उसले एकै गेममा पाँच वटा हेडर गोल गरेको छ। यो ब्राजिलको फुटबलमा रेकर्ड नै हो।
तिमीले जतिसुकै कीर्तिमान राखे पनि तिम्रा बुवाले तिमीलाई पक्कै सोध्नेछ-‘मैले एकै खेलमा हेडिङमार्फत् पाँच गोल गरेँ, के तिमीले गर्न सक्यौँ?’
हजार गोल गरेर इतिहास बनाए पनि पिताको रेकर्ड भेट्टाउन नसक्दाको क्षणमा म लज्जित हुनेछु। तिमी सधैँ पिताको लक्ष्य भेट्टाउन संघर्षरत हुनेछौ। तिम्रा लागि तिम्रो पिता नै सर्वकालीन महान् खेलाडी हुनेछ।
‘पेले, को हो पेले?’ तिम्रो नाम त एडसन हो। अमेरिकी वैज्ञानिक थोमस एडिसनबाट प्रेरित भएर तिम्रो पिताले राखिदिएको नाम हो एडसन।
मलाई विश्वास छ तिमी तिम्रो वास्तविक नाम प्रति झनै गर्विलो हुनेछौ।
बारुको गोलकिपर बिलेलाई तिमीले पेले भन्यौँ। त्यसबेला तिम्रा साथीहरू त्यसको नाम बिले हो पेले होइन भनेर तिमी प्रति खिसिट्युरी गरे।
तिमी रिसले चुर भएर साथीहरूसँग झगडा गर्यौँ। त्यसपछि तिम्रो नाम पेले भयो।
तर तिम्रो वास्तविक नाम तिमीले नभुल्नु।
जब १३ वर्षमा तिमीले फुटबललाई अझै गम्भीर रूपमा लियौ। बुवाको टिम बारुमा जाँदा तिमीले पहिलोपटक आफूभन्दा पाका खेलाडीको जुत्ता सफा गर्ने काम पायौ। त्यहाँ प्रत्येक जोर सफा गरेबापत तिमीले केही आर्जन गर्यौ। यो धेरै रकम त थिएन तर वास्तविक फुटबल किन्नका लागि पर्याप्त नै थियो।
तिमीले फुटबललाई नचाएको देखेर वाल्डेमर ब्रिटो तिम्रो नजिक आए।
‘पेले तिमी व्यवसायीक फुटबलका लागि योग्य छौ भने तिमीले पाउने पैसा बचाएर राख्नु। सिगार र मिठाईमा खर्च नगर्नु। भविष्यका लागि काम लाग्छ भने,’ उनले भने।
१५ वर्षको उमेरमा सान्तोषको लकर रुममा जर्सी नम्बर १० र बुट पाउँदा तिमी त ट्वाँ पर्यौ।
सान्तोष घरबाट निकै पर थियो। ट्रेनबाटै पाँच घण्टा लाग्थ्यो। सान्तोषबाटै अविश्वसनीय यात्राको सुरुवात भयो।
१७ वर्षमै त्यहिबाट स्वीडेनको यात्रा तय भयो। त्यो बेला १९५८ को विश्वकप थियो। स्वीडेन जाँदा कसैले पनि ब्राजिललाई चिन्दैनथ्यो। तर लाग्थ्यो ट्रफी उचालेपछि सबैले चिन्नेछ। जब ट्रफी उचालेँ मलाई मात्रै होइन सबैले ब्राजिललाई चिन्न थाले।
सान्तोषबाट खेल्दै गर्दा म्याड्रिड, मिलनसहित अमेरिकाका क्लबाट प्रस्ताव आए। तर बुवाको वाणी सम्झियौं-'एडसन सधैँ ब्राजिलको बन्नु। र जीवनभर तीन शब्द नभुल्नु- इमान्दारिता, धैर्य र सम्मान।’
(द प्लेयर्स ट्रिब्युनमा प्रकाशन भएको लेख सेतोपाटीका शिशिर ढकालले भावानुवाद गरेका हुन्।)