उरुग्वेका स्ट्राइकर लुइस सुआरेजले ब्राजिलियन क्लब ग्रेमियोसँग सम्झौता गरेका छन्।
उनले ब्राजिलको शीर्ष डिभिजनको क्लबसँग सन् २०२४ को अन्त्यसम्मका लागि सम्झौता गरेका हुन्।
लिभरपुल, बार्सिलोना र एट्लेटिको म्याड्रिडका पूर्वखेलाडी सुआरेज यसअघि आफ्नो पहिलो क्लब नेसियोनल फर्किएका थिए। त्यहाँ उनी तीन महिना बसे। क्लबले उरुग्वेन च्याम्पियनसिप जित्दा सुआरेजले १६ खेलमा ८ गोल गरेका थिए।
ब्राजिलियन क्लब ग्रेमियोको सन् २०२३ को पहिलो खेल १७ जनवरीमा साओ लुइजसँग हुनेछ।
पोर्टो एलेग्रे सहरमा रहेको क्लब नोभेम्बरमा सकिएको २०२२ सिजनमा ब्राजिलको सिरी बीबाट बढुवा भएका थियो।
सुआरेजले कतारमा भएको विश्वकपमा आफ्नो देशका लागि तीनवटै खेल खेले पनि गोल गर्न सकेका थिएनन्। विश्वकप २०२२ मा उरुग्वे समूह चरणबाटै बाहिरिएको थियो।