रेलिगेशन जोनमा रहेको नटिङघम फरेस्टले इंग्लिस प्रिमियर लिगमा उत्कृष्ट पुनरागमन गर्दै चेल्सीलाई बराबरीमा रोकेको छ।
घरेलु टोलीविरूद्ध सुरूआती अग्रता लिए पनि चेल्सीले जोगाउन नसक्दा तालिकाको सातौं स्थानमा उक्लने मौका गुमायो।
गए राति भएको खेलमा चेल्सीले नटिङघमसँग १-१ गोलको बराबरी खेलेको छ।
चेल्सीका लागि खेलको छैटौं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै सुरूआती अग्रता दिलाएका थिए। दोस्रो हाफमा घरेलु टोलीले सुधारिएको खेल प्रदर्शन गर्यो।
खेलको ६३ औँ मिनेटमा हसर्ज अरेले गोल गर्दै खेललाई बराबरीमा ल्याए। यसपछि दुबै टोलीबाट गोल हुन नसकेपछि खेल १-१ को बराबरीमा सकियो।
यो नजितापछि आठौं स्थानमा रहेको चेल्सीको १६ खेलबाट २५ अंक छ। रेलिगेसन जोनमा कायमै रहेको नटिङघमको १७ खेलबाट १४ अंक छ।
गए रातिनै भएको प्रिमियर लिगको अर्को खेलमा टोटेनहम घरेलु मैदानमा स्तब्ध भएको छ। एस्टन भिल्लाले टोटेनहममाथि २-० जित निकाल्यो। भिल्लाको जितमा इमिलियानो बोन्डिया र डग्लास लुइसले गोल गरे।
पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको भिल्लाका लागि खेलको ५० औं मिनेटमा बोन्डियाले गोल गर्दै अग्रता बनाए। त्यसपछि ७३ औँ मिनेटमा डग्लास लुइसले अग्रता दोब्बर पार्दै जित निश्चित पारे। त्यसपछि दुबै टोलीबाट गोल नभएपछि खेलमा घरेलु टोली २-० ले पराजित हुँदै शीर्ष चारमा पुग्ने मौका गुमायो।
पाँचौ स्थानको टोटेनहमको १७ खेलबाट ३० अंक छ। एक खेल कम खेल्दै चौथो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ३२ अंक छ। १२ औँ स्थानको एस्टन भिल्लाको १७ खेलबाट २१ अंक जोडेको छ।