सहिद स्मारक ‘ए’ डिभिजन लिग २०२३ को टाइ सिट ड्र माघ २ गते गरिने भएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार ए डिभिजन क्लबका प्रतिनिधिसँगको बैठकपछि एन्फाले क्लबहरूलाई लिगको समयसीमा जारी गरेको हो।
समयरेखा अनुसार क्लबहरूले पुस २२ सम्ममा क्लब दर्ता गराउने पर्नेछ। माघ १५ सम्ममा राष्ट्रिय क्लब लाइसेन्सको आवश्यकताहरू पूरा गर्नुपर्नेछ।
खेलाडी दर्ता पुस २४ मा खुल्नेछ र क्लबहरूले कम्तिमा २० खेलाडीहरू माघ २९ सम्म दर्ता गर्नुपर्नेछ।
छलफलमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी र प्रवक्ता सुरेश शाहको उपस्थिति थियो ।
हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पा, संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर, थ्रीस्टार क्लबका अध्यक्ष अरुणमान जोशी, फ्रेन्ड्स क्लबका अध्यक्ष दीपक थापा, न्यूरोड टिमका महासचिव नरेन्द्रमान श्रेष्ठलगायत १४ वटै ए डिभिजन क्लबको प्रतिनिधित्व रहेको थियो।
यो सिजनको लिग फागुन १९ बाट सुरु हुनेछ। लिग डबल राउण्ड रोबिन ढाँचामा खेलाइनेछ।