इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ।
ब्रेन्टफर्डको घरेलु मैदान कम्युनिटीमा गएराति लिभरपुल ब्रेन्टफोर्डसँग ३–१ गोल अन्तरले पराजित हुँदै पाँचौ स्थानमा उक्लने मौका गुमाएको छ।
ब्रेन्टफोर्डको जितमा योयन वेस र ब्रायन एमबेउमोले गोल गर्दा एक गोल उपहार पाएको थियो। लिभरपुलका लागि एलेक्स चाम्बरलिङले गरेको गोल शान्तवना साबित भएको थियो।
खेलको १९ औं मिनेटमा लिभरपुलका इब्राहिम कोन्टेले आफ्नै पोस्टमा गोल गरेपछि ब्रेन्टफोर्डले सुरूआती अग्रता लिएको थियो।
खेलको ४२ औं मिनेटमा योयन वेसले गोल गर्दै ब्रेन्टफोर्टलाई पहिलो हाफमा २-० को अग्रता दिलाए।
पहिलो हाफमा २ गोलले पछि परेको लिभरपुलले दोस्रो हाफमा १ गोल थप्दा १ गोल व्यहोरेको थियो।
एलेक्स चाम्बरलिङले खेलको ५० औं मिनेटमा गोल गर्दै लिभरपुललाई खेलमा फर्कने संकेत देखाए।
तर ब्रायन एमबेउमोले ८४ औं मिनेटमा थप गोल गरेपछि ब्रेन्टफोड ३–१ ले विजयी भयो।
यो हारसँगै लिभरपुल अंक तालिकाको शीर्ष पाँचमा पुग्ने अवसर गुमायो। छैठौं स्थानमा रहेको लिभरपुलको १७ खेलबाट २८ अंक छ। जित निकालेको ब्रेन्टफोर्ड २६ अंकका साथ सातौं स्थानमा उक्लिएको छ।
पाँचौँ स्थानको टोटेनहमको ३० र एक खेल कम खेल्दै चौथो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ३२ अंक छ।
१६ खेलबाट ४३ अंक बटुलेको आर्सनल तालिकाको शीर्ष स्थानमा छ। उसलाई पछ्याइरहेको म्यानचेस्टर सिटीको ३६ अंक छ। १७ खेलमा ३४ अंक जोडेको न्युक्यासल तेस्रो स्थानमा छ।