ए डिभिजन क्लब मनाङ मर्स्याङ्दीले नयाँ सिजनका लागि आफ्नो टिम घोषणा गरेको छ। क्लबले मुख्य प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा प्रविन श्रेष्ठसँग सम्झौता गरेको छ।
यस सिजनका लागि अनुबन्धन गरिएका खेलाडीमा दिप कार्की, जियारत शेख, आशिष गुरुङ, चेतनकुमार थारु, सरोज योञ्जन लामा, मानबहादुर तामाङ, रन्दिप पौडेल, सुमित श्रेष्ठ, जय गुरुङ, कमल थापा, विजय श्रेष्ठ, विसन गुरुङ, रमेश थापा, प्रशान्त श्रेष्ठ, निराजन मल्ल र रोशन राना मगर छन् ।
नयाँ सिजनको लिगमा मनाङले युवा खेलाडीमाथि विश्वास गरेको छ।
उमेर समूहको राष्ट्रिय टिममा उत्कृष्ट प्रर्दशन गरेका खेलाडीलाई अनबुन्धन गरेको बताउँदै मनाङले आसन्न ए डिभिजन लिगको उपाधि जित्न बलियो चुनौती पेश गर्ने अपेक्षा गरेको छ।
मुख्य प्रशिक्षक किरण श्रेष्ठको भनाइ छ, ‘मनाङ ठूलो टिम हो। विश्वास गरेर क्लबले ठूलो जिम्मेवारी दिएको छ। क्लबको व्यवस्थापनलाई धन्यवाद दिन चाहान्छु। यस पटकको जिम्मेवारी चुनौतीपूर्ण छ। मनाङको यसपटकको खेलाडी संरचना फरक छ, यसअघि राष्ट्रिय टिमका खेलाडी धेरै हुन्थे। अहिले पूरै युवा खेलाडीको टिम छ। नतिजाका लागि प्रशिक्षकको रुपमा सक्दो कोशिष गर्नेछु।’
यो सिजनको सहिद स्मारक ए डिभिजन लिग फागुन १९ बाट सुरु हुनेछ। लिग डबल राउण्ड रोबिन ढाँचामा खेलाइनेछ।
लिगका लागि क्लबहरूले पुस २२ सम्ममा क्लब दर्ता गराउने पर्नेछ। माघ १५ सम्ममा राष्ट्रिय क्लब लाइसेन्सको आवश्यकताहरू पूरा गर्नुपर्नेछ।
खेलाडी दर्ता पुस २४ मा खुल्नेछ र क्लबहरूले कम्तिमा २० खेलाडीहरू माघ २९ सम्म दर्ता गर्नुपर्नेछ।