म्यानचेस्टर सिटीले चेल्सीमाथि सहज जित निकाल्दै एफए कपको चौथो चरणमा प्रवेश गरेको छ।
आइतबार राति इतिहाद स्टेडियममा भएको खेलमा सिटीले चेल्सीलाई ४–० गोल अन्तरमा हराएको हो।
सिटीको जितमा रियाद महारेजले २ तथा जुलियन अल्भारेज र फिल फोडेनले १-१ गोल गरे।
खेलको २३ औं मिनेटमा घरेलु टोली सिटीले अग्रता बनाएको थियो। रियाद महरेजले उत्कृष्ट फ्रि किक गोल गर्दै टोलीले सुरूआती अग्रता दिलाएका थिए।
त्यसको सात मिनेटपछि विश्व विजेता युलियन अल्भारेजले पेनाल्टीमा गोल गरी सिटीको अग्रता दोब्बर पारे। काइ हाभेर्टजले बक्समा ह्याण्डबल गरेपछि पाएको पेनाल्टीमा अल्भारेज चुकेनन्।
३८ औं मिनेटमा फिल फोडेनले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए। पहिलो हाफमा ३-० ले अघि रहेको सिटीले दोस्रो हाफमा थप १ गोल गर्यो।
खेलको ८५ औं मिनेटमा महरेजले व्यक्तिगत दोस्रो गोल गर्दा सिटीले फराकिलो जित निकाल्यो। फोडेनलाई कलिडोउ कुलुबेलीले लडाएपछि पाएको पेनाल्टीमा महरेजले गोल गरेका थिए।
अर्लिङ हालान्ड, इल्के गुन्डोअन जस्ता स्टार खेलाडीलाई बेन्चमा राखेर पनि चेल्सीमाथि सिटीले शानदार जित निकालेको हो।
अब सिटीले अर्को चरणमा आर्सनल वा अक्सफोर्ड युनाइटेडमध्ये कुनै एकको सामना गर्नेछ।