वेल्सका कप्तान ग्यारेथ बेलले संन्यासको घोषणा गरेका छन्।
वेल्सबाट सबैभन्दा धेरै क्याप जित्ने र गोल गर्ने ३३ वर्षे बेलले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै राष्ट्रिय टोलीबाट संन्यासको घोषणा गरेका हुन् ।
आफूले धेरै सोचविचारपछि यो निर्णय लिएको उनले बताएका छन्।
सबैभन्दा मनपर्ने खेल खेल्ने सपना साकार गर्न पाउँदा आफू निक्कै भाग्यमानी ठानेको भन्दै उनले खेलाडीको रूपमा फुटबलबाट बिदा लिने निर्णय गरेको बताए।
‘होसियार र सोचविचार पछि, म क्लब र अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल सन्यासको घोषणा गर्छु। मलाई मनपर्ने खेल खेल्ने मेरो सपना साकार गर्न पाउँदा म अविश्वसनीय रूपमा भाग्यशाली महसुस गर्छु,’ बेलले भनेका छन्।
वेल्स फुटबलले पाएकामध्ये उनी सबैभन्दा राम्रा खेलाडी हुन्।
सन् २०१६ देखि २०२२ सम्म वेल्सले हासिल गरेका सबै सफलतामा उनी प्रमुख भूमिकामा थिए। उनको कप्तानीमा वेल्स सन् १९५८ पछि पहिलो पटक फिफा विश्वकपमा छनोट भएको थियो भने युरोपेली च्याम्पियनसिपमा पनि राम्रो छाप छोड्न सफल भएको थियो।
बेलले अन्तर्राष्ट्रिय करियरमा १ सय ११ खेल खेल्दा ४१ गोल गरेका छन्।
कार्डिफमा जन्मिएका बेलले इंग्लिस प्रिमियर लिग क्लब साउथह्याम्पटनबाट व्यवसायिक फुटबलको करियर सुरूआत गरेका थिए।
त्यसपछि उनी टटेनहम हुँदै कीर्तिमानी रकममा स्पेनिस क्लब रियल म्याड्रिडमा सन् २०१३ को सेप्टेम्बरमा ८० मिलियन पाउन्डमा अनुबन्ध भएका थिए।
स्पेनिस लिगमा उनको बसाइ सबैभन्दा सुखद रह्यो। उनले रियललाई तीन ला लिगा जिताएका थिए। उनले रियालबाट पाँच पटक च्याम्पियन्स लिग, तीन क्लब विश्वकप, तीन युएफा सुपर कप र एक स्पेनिस कप जितेका थिए।
पछिल्लो समय अमेरिकाको मेजर सकर लिग क्लब लस एन्जलसमा व्यवसायिक फुटबल खेलेका उनले व्यवसायिक करियरमा १ सय १५ गोल गरेका छन् ।