बेल्जियम र एभर्टनका पूर्वप्रशिक्षक रोबर्टो मार्टिनेज पोर्चुगलको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।
गत महिना फिफा विश्वकपमा मोरक्कोसँगको क्वार्टरफाइनलमा हारपछि पोर्चुगलका तत्कालिन प्रशिक्षक फर्नान्डो सान्तोषले राजीनामा दिएका थिए।
अब सान्तोषको स्थानमा मार्टिनेजले प्रशिक्षण गर्नेछन्।
विश्वकपमा बेल्जियम समूह चरणबाट बाहिरिएपछि मार्टिनेजले बेल्जियमको प्रशिक्षकको पद छोडेका थिए।
मार्टिनेजले पोर्चुगलको प्रशिक्षक नियुक्त भएपछि भने, ‘विश्वकै उत्कृष्ट प्रतिभा भएको राष्ट्रिय टोलीको प्रशिक्षक हुन पाउँदा म निकै खुसी छु। म यहाँ आउन पाउँदा धेरै उत्साहित छु। मैले पहिलो पटक संघका अध्यक्षसँग कुरा गरेपछि मलाई थाहा भयो कि यो एक खेलकुद परियोजना हो जसले मलाई उत्साहित गर्नेछ। म बुझ्छु यहाँ ठूलो अपेक्षा र ठूला उद्देश्यहरू छन्।'
मार्टिनेजले चार वर्ष विगानको प्रशिक्षकको रूपमा बिताएका थिए। त्यसपछि एभर्टनमा तीन वर्ष प्रशिक्षक भएपछि उनी २०१६ मा बेल्जियमको प्रशिक्षक बनेका थिए।