फ्रान्सका गोलकिपर ह्युगो लोरिसले ३६ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबल खेलबाट संन्यासको घोषणा गरेका छन्।
इंग्लिस क्लब टोटेनह्यामका कप्तान समेत रहेका लोरिसले फिफा विश्वकप २०२२ को फाइनलमा अर्जेन्टिनासँग पेनाल्टीमा फ्रान्स पराजित भएको तीन हप्ता पछि संन्यासको घोषणा गरेका हुन्।
लोरिसको कप्तानीमा फ्रान्सले सन् २०१८ को विश्वकप जितेको थियो।
युरो २०२४ को छनोटअघि उनले राष्ट्रिय टिम छाड्ने निर्णय गरेका हुन्।
फ्रान्स युरो २०२४ को छनोट समूहमा जिब्राल्टर, ग्रीस, नेदरल्यान्ड्स र रिपब्लिक अफ आयरल्याण्डसँग परेको छ।
लोरिसले नोभेम्बर २००८ मा उरुग्वेविरुद्धको मैत्रीपूर्ण खेलबाट २१ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका थिए।
उनले विश्वकपको फाइनलमा अर्जेन्टिनासँगको हारेको खेलमा आफ्नो १ सय ४५ औं अन्तर्राष्ट्रिय खेल खेलेका थिए। जससँगै उनले फ्रान्सका लागि सर्वाधिक खेलको कीर्तिमान बनाएका थिए।
लोरिसले १ सय २१ पटक फ्रान्सको कप्तानी गर्दै अर्को कीर्तिमान पनि बनाएका छन्।
फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्प्सले आफ्नो सम्झौता जून २०२६ सम्म लम्ब्याएको केही दिनमा लोरिसको यो निर्णय आएको हो।