म निम्न परिवाको मान्छे,परिवारको आर्थिक अवस्था सहज थिएन। त्यसैले बाल्यकाल दु:खमै बित्यो। न धेरै पढ्न लेख्न सकियो, न त कुनै आर्थिक अवस्था उकास्ने खालको व्यापार व्यवसाय नै गर्न सकिन्थ्यो।
यिनै कारणले पनि होला, घर परिवारको गर्जो टार्न र अलिअलि प्रगती गर्ने ध्याउन्नमा कलिलो उमेरमा खाडितिर भासिन बाध्य भइयो।
अहिले त विदेशिएको पनि वर्षौं बितिसकेछ। उमेरले ४० नाघिसक्यो, छोराछोरी हुर्किसके, ता पनि म कतार तिरै छु। त्यति असन्तुष्ट पनि छैन। मलाई खाडी मै भए पनि एक प्रतिष्ठित कम्पनीको कामदार भएर काम गर्न पाउदा खुसी नै छु। वैदेशिक रोजगारी र समाज सेवा समय मिलेसम्म पत्रकारितालाई निरन्तरता दिदै अझै कति विदेश बसिन्छ थाहा छैन।
विदेशिनुमा गर्व गर्न नै त नसकिएला तर विकासको द्रुत गतिमा रहेको कतार विश्व कै ध्यान खिच्न सफल छ। जसले सडक अनि गगनचुम्बी महलहरू मात्र बनाएन, उराठ लाग्दो मरूभूमि नै किन नहोस,आज आधुनिक श्रोत साधनको उपयोग गर्दै हरियाली अनि खेतियोग्य जमिन बनाएर आत्मानिर्भर हुँदै गरेको देख्दा कति पनि डाहा हैन। बरू गर्वले मन पुलुकित हुन्छ। र झस्स सम्झन्छु मेरो देशले कतार झै विकासको फड्को कहिले मार्ने होला है, त्यससैले म भन्ने गर्छु मन खुम्च्याएर, कुण्ठा बोकेर वा भनौं आत्मग्लानी लिएर बसिएको छैन कतार।
आर्थिक रूपमा म के कति सफल भए वा भइन, त्यो अलगै पाटो हुनसक्छ। तर कतारमा रहेर आफ्नो कार्यलयको समयलाई चुस्त राख्दै थोरै भए पनि सामाजिक कार्यमा सारिक हुने अवसर पा रहनु नै मेरो लागि आत्मसन्तुष्टि बन्ने गरेको छ। नेपालमा मौलाएको राजनीतिक अस्थिरता, दण्डहीनता, अराजकता र कुशासन अनि बेरोजगारी आदि देखे भोगेको हिसाबले यति भन्न सकिन्छ कि कतारको बसाइ नेपालमा एक आम जनताको भन्दा सहज छ, कमाइ धेरथोर जे जस्तो भए पनि।
सन् २००६ दोहामा आयोजित १५ औं एसियन गेमबाट सुरू भएको मेरो स्वयंसेवकको यात्रा शृङ्खला लुसाइल सुपर कपमा पनि दोहोरिएको थियो।
यसपाली कतारमै आयोजित फिफा विश्वकप कप २०२२ मा पनि स्वयंसेवकका रूपमा काम गर्ने अवसर मिल्यो।
अलरायनस्थित ४४ हजार ६ सय ६७ सिट क्षमता भएको हिरा आकारमा बनेको आकर्षक एजुकेसन सिटी रंगशालामा ८ सिफ्ट बिताउँदाको त्यो पल साच्चिकै स्मरणीय रहयो।
हरेक सिफ्टमा फरक टिम अनि टिम लिडर भएर फरक-फरक कामको अनुभव बटुल्न पाउँदा मन कम प्रफुल्लित छैन। कहिले रंगशालाको मुल गेटमै दर्शकहरूलाई स्वागत गर्दै त कहिले खेल मैदानमा खेलिरहेका खेलाडी र दर्शकहरूलाई नजि बाट निहाल्दै कर्तव्य पूरा गर्दाको त्यो पल होस वा विश्वभरबाट खेल हेर्न आएका खेलप्रेमि दर्शक माझ रहेर विश्वकप हेर्न पाउँदाको त्यो क्षण शब्दमा बयान गरी शाध्य छैन।
रंगशालामा आइपर्ने विभिन्न समस्याको हल गर्ने देखि टिकट, चेक जाँचमा सहयोगी भूमिका निभाउने भित्रको एक भएर काम गर्ने अवसर सजिलै र जो कोहीले नपाउँदो रहेछ, जुन कतारले दिलायो। दर्शकहरूलाई सहजीकरण गर्दै संसारभरबाट आएका दर्शकको नजिकको सहयोगी मान्छे बन्नु मेरालागि चानचुने कुरा हो जस्तो लाग्दैन।
मैले विश्वकपमा स्वयंसेवक हुने अवसर पाएकोमा खुसी प्रकट गर्दै अलि ढिलै भए पनि यो अनुभुति लेखिरहँदा स्वयंसेवक हुँदैमा कत्रो फुर्ति लगाएको भन्ने कसैलाई पर्नसक्छ। तर खाडीमा मै किन नहोस् अनुशासनमा रहि पसिना बगाउँदै आएको एउटा श्रमिक संसारकै ध्यान खिच्ने फिफा वर्ड कप खेलमा एउटा सेवक हुन पाउनु म जस्तो धेरै श्रमिकको लागि अविस्मरणीय लागेर सबैसामु प्रकट गरेको मात्र हुँ। यो केवल मेरो निजी मामिला पनि त होइन, विश्वकपमा सहभागी सयंसेवाहरूको तर्फबाट केही कुरा भन्दै छु।
फिफा विश्वकपमा स्वयंसेवकको आवेदन खुलेपछि विभिन्न चरण पार गर्दै मैले र हामीले जिम्मेवारी पाएका थियौं। विश्वका २०९ देशबाट चार लाख २० हजारले आवेदन दिएकोमा ५८ हजार जनाले अन्तर्वार्ता दिँदा २० हजार जनाको टिममा म पनि परेको हुनाले पनि मैले यसलाई सौभाग्यको रूपमा लिएको हुँ।
यो अवसर मेरो मात्रै नभइ हामी नेपालीहरूको लागि यो सुनौलो अवसर पनि थियो। त्यसैले त्यो अवसरको सक्दो सदुपयोग गर्दै भव्य र सव्यरूपले कतारमा फिफा विवश्वकप सम्पन्न गराउन सक्दो सहयोग गरियो। फिफाको तर्फबाट हामी स्वयंसेवकलाई यातायात, पोशाक, खाजा, खानासाथै प्रमाणपत्र र सम्मान स्वरूप उपहारहरू मात्र हैन क्रमिकरूपमा फिफा विश्वकप हेर्ने फ्री टिकटसम्म दिएर्कोमा खुसी भएका छौँ।
दर्शकले केही बुझ्नु पर्ने भए जानकारी अनि सहयोग चाहिए स्वयंसेवक नै नजिक पाउँथे। गजबको कुरा त के लाग्यो भने खेल समय भरिको मात्र भए पनि दर्शक र हामी स्वयंसेवकको त्यो सम्बन्ध कतिला आत्मीयता छ भन्ने त्यहिबाट प्रष्ट हुन्छ। जसले जे भने पनि फिफाको स्वयंसेवक बन्न पाउनु मेरो लागि गौरवको कुरा हो।
अर्को कुरा स्वयंसेवकको भूमिकामा रहँदा कुनै आर्थिक लाभ नहुने जान्दाजान्दै पनि म विश्वको मेगा इभेन्टमा प्रत्यक्ष सहभागी भएर कतार अनि फिफालाई सहयोग गर्न पाएकोमा गौरवान्वित महसुस गरेको छु।
विश्वकपलाई सफल बनाउन विभिन्न मुलुकसहित नेपालीहरू पनि फिफा विश्वकपमा २ सय भन्दा माथि नै नेपाली स्वयंसेवकहरू थियौं। जसमा सन्ध्या अर्याल, माया केसी, कविता खत्री लगायत दर्जन नेपाली चेलिहरू पनि स्वयंसेवकको भूमिकामा उत्साहित रहेको देखिन्थे।
मित्र विश्व भट्टराईले केहि साल पहिलेदेखि नै फिफा कै लागि नेपाली स्वयंसेवक ह्वाट्सएप ग्रुप बनाउनु भएको रहेछ। यो हाम्रो लागि निकै उपयोगि बन्यो। नजानेका कुराहरू एक अर्कोमा बुझ्न सहज बन्यो।
जसको माध्यमबाटै विश्व जी अनि विनेश तामाङ जीको अगुवाइमा हामी केहि स्वयंसेवक साथीहरू हाम्रा अभिभावक नेपाल दूतावासका राजदूतसँग दूतावासमा भेट गरी फिफामा नेपाली स्वयंसेवकको सहभागिता बारे जानकारी गराउने अवसर मिल्यो।
त्यो भेटमा राजदूतबाट नेपाल र नेपालीको शिर उच्च राख्दै अनुशासन, इमानदारका साथ विश्वकप सफल पार्नेमा नेपाल सरकार र नेपाली दूतावास परिवार ढुक्क रहेको भन्दै हामीलाई शुभकामना दिनुभएको थियो।
अन्तमा स्वयंसेवकमा हौसला दिने मेरा परिवारजन, मित्रहरू सुवा स गौतम, कु मार कार्की, राइ रमेश गाउँले, कान्ति सिंह, हेमन्त लिम्बु, मोना थापा,सर भि भि अबु बकर बाबु,सर ओस्मान र मलाई बिश्वपप २०२२ को स्वयंसेवक हुनका लागि हौसलासहित समय उपलब्ध गराउने मेरो रोजगारदाता कम्पनी इमाल्को प्रति पनि सदैब ऋणी छु। सुक्रान कतार !