इंग्लिस प्रिमियर लिगमा लिभरपुललाई हराउँदै ब्राइटन अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ।
एमेक्स स्टेडियममा गएराति लिभरपुलको चुनौती ब्राइटनले ३ - ० गोलले स्तब्ध पारेको हो।
खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा उत्कृष्ट लयमा देखिएको ब्राइटनले सानदार प्रदर्शन गर्यो।
४६ औँ मिनेटमा सोली मार्चले गोल गर्दै घरेलु टोलीलाई अघि बढाए। ५३ औँ मिनेटमा इभान फर्गुसनको सहयोगमा मार्चले नै गोल गर्दै टिमको अग्रता दोब्बर पारे।
खेलको ८१ औँ मिनेटमा ड्यानी वेलब्याकले अर्को गोल थप्दै टिमको जित सुनिश्चित गरेका थिए।
यो जितपछि ब्राइटन तालिकाको सातौं स्थानमा उक्लिएको छ। १८ खेलबाट उसले ९ जितसहित ३० अंक जोडेको छ। यता खराब लयमा रहेको लिभरपुलको समान खेलबाट २८ अंकसहित नवौ स्थानमा छ।
यस्तै, गएराति नै भएको अर्को खेलमा साउथह्याम्पटनले एभर्टनलाई २ - १ गोलले हरायो । यो जितपछि तालिकाको पुछारमा रहेको साउथह्याम्पटनको १५ अंक भएको छ। खेलको नतिजापछि १९ औँ स्थानमा झरेको एभर्टनलाई रेलिगेसनको खतरा बढेको छ।