ओमानलाई हराउँदै इराकले अरेबियन गल्फ कपको उपाधि जितेको छ।
इराकको बसरा अन्तर्राष्ट्रिय रंगशालामा भएको रोमाञ्चक फाइनलमा ओमानको चुनौती ३-२ ले पन्छाउँदै घरेलु टोलीले उपाधि रक्षा गरेको हो।
इराकको जितमा इब्राहिम बायेश, अमजद अत्तवान र मनाफ युनिसले गोल गर्दा ओमानका लागि सलाह अल-याह्याई र ओमार अल मल्कीले गोल गरेका थिए।
खेलको २४ औं मिनेटमा इराकी मिडफिल्डर इब्राहिम बायेशले गोल गर्दै घरेलु टोलीलाई सुरूआती अग्रता दिलाए। यो अग्रता खेल सकिन केही समय अघिसम्म रह्यो। इन्जुरी समयको १० औं मिनेटमा ओमानी मिडफिल्डर सलाह अल-याह्याईले पेनाल्टी किकमा गोल गरेर खेललाई बराबरीमा ल्याउँदै अतिरिक्त समयमा धकेलेका थिए।
अतिरिक्त समयको ११६औं मिनेटमा इराकी मिडफिल्डर अमजद अत्तवानले पेनाल्टीमा गोल गर्दै पुनः अग्रता दिलाए। त्यसको तीन मिनेटपछिनै ओमानी स्ट्राइकर ओमार अल मल्कीले हेडरमा गोल गर्दै रोमाञ्चक बराबरी गरे। तर अतिरिक्त समयको अन्तिममा इन्जुरी समयको पनि अन्तिम मिनेटमा इराकी डिफेन्डर मनाफ युनिसले गोल गरेपछि इराक ३–२ ले विजयी भयो।
यो सँगै इराकले चौथो पटक उपाधि जितेको हो। यसअघि सन् १९७९, १९८४ र १९८८ मा उपाधि जितेको थियो।
ओमानले सन् २००९ र २०१७ मा उपाधि जितेको थियो।
हरेक चार-चार वर्षमा आयोजना हुने अरेबियन गल्फ कपको उपाधि यसअघि बहराइनले सन् २०१९ मा जितेको थियो।
खेलअघि इराकको बसरा अन्तर्राष्ट्रिय रंगशालामा भागदौड मच्चिँदा कम्तीमा चार जनाको मृत्यु भएको छ। दर्जनभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक छ ।
फाइनल खेलअघि रंगशालामा भेला भएका समर्थकबीच भागदौड मच्चिएको थियो।
टिकट नभएका हजारौं समर्थक खेल हेर्न पाउने आशमा रंगशाला पुगेको अलजजिराले जनाएको छ । उनीहरु रंगशालाभित्र प्रवेश गर्न खोज्दा भागदौड मच्चिएको हो।
इराकले सन् १९७९ पछि पहिलोपटक गल्फ कप आयोजना गरेको हो। लामो समय युद्धको सामना गरेका इराकी नागरिक गल्फ कपको आयोजनाले उत्साहित बनेका छन्।
प्रत्यक्ष अन्तर्राष्ट्रिय खेल हेर्ने इच्छाका साथ नियन्त्रण गर्न मुस्किल हुने गरी समर्थक रंगशाला पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
इराकको आन्तरिक मन्त्रालयले टिकट नभएका समर्थकलाई रंगशालाबाट बाहिर जान आग्रह आग्रह गरेको थियो। ६५ हजार दर्शक क्षमताको रंगशाला भरिएपछि गेट बन्द गरिएको थियो। बासरा सहरका विभिन्न सार्वजनिक स्थलमा ठूला स्क्रिनमार्फत खेल देखाइएको थियो।
प्रतियोगिता आयोजना गर्नु इराकको लागि महत्त्वपूर्ण रहेको प्रधानमन्त्री मोहम्मद शिया अल-सुदानीले बताए। देशमा यस्तो प्रतियोगिताको आयोजनाले इराक सुरक्षित रहेको देखाएको उनले भने।
उनले फिफालाई इराकी स्टेडियमहरूमा सुरक्षा सम्बन्धी प्रतिबन्ध हटाउन आह्वान पनि गरेका छन्।