फिफाले श्रीलंका फुटबल महासंघ (एफएफएसएल) लाई निलम्बन गरेको छ।
विश्व फुटबलको कार्यकारी निकाय फिफाले निर्वाचनमा तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै शनिबारबाट अर्को सूचना नभएसम्मका लागि महासंघलाई निलम्बन गरेको हो।
निलम्बन अवधिभर एफएफएसएलका प्रतिनिधि, क्लबले कुन पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउने छैनन्। त्यस्तै यसबीचमा फिफाको सदस्य राष्ट्रका रूपमा पाउने फिफा वा एसियाली फुटबल महासंघ (एएफसी) विकास कार्यक्रम, विभिन्न कोर्ष र प्रशिक्षणबाट पनि एफएफएसएल वञ्चित रहने फिफाले स्पष्ट पारेको छ।
‘२१ जनवरी २०२३ मा फिफा काउन्सिल ब्युरोले लिएको निर्णयअनुसार श्रीलंका फुटबललाई फिफा विधानको धारा १६ अनुसार अर्को सूचना जारी नभएसम्मका लागि निलम्बन गरिएको छ,’ फिफाले जारी गरेको सूचनामा भनिएको छ।
फिफा, एएफसी र देशको खेलकुद मन्त्रालयको निर्देशनलाई अवज्ञा गर्दै श्रीलंका फुटबल महासंघले आवधिक निर्वाचन गर्न नसक्नुका साथै संस्थालाई गति दिन सकेको थिए।
यसैबीच फिफाले सर्तहरू पूरा भएको खण्डमा ब्युरो अफ फिफा काउन्सिल वा फिफा काउन्सिलले फिफाको अर्को कंग्रेसअघि कुनै पनि बेला निलम्बन फुकुवा गर्न सक्ने जनाएको छ।
यसअघि गत वर्ष फिफाले भारतमाथि पनि निलम्बन गरेको थियो। तर अदालतले आफ्नो प्रक्रिया फिर्ता लिएर फिफाको निर्देशन मानेलगत्तै एक सातामै निलम्बन फुकुवा भएको थियो। त्यसअघि पाकिस्तान फुटबललाई पनि फिफाले प्रतिबन्ध लगाएर फुकुवा गरेको थियो।