फुटबल सबैका लागि भन्ने नाराका साथ गोरखाको द ओसन क्लबले यू-१३ राष्ट्रिय च्याम्पियनसिप आयोजना गर्ने भएको छ।
गोरखाको गौरव गोरखाको सान, युवा फुटबल विकास अभियान भन्ने नाराका साथ चैतमा अन्तिम साता आठौं ओसन कप यू-१३ राष्ट्रिय फुटबल प्रतियोगिता संचालन गर्न लागिएको क्लबले जनाएको छ।
प्रतियोगिताको पहिलो चरणमा गोरखा नगरपालिकामा यू-१३ अन्तरविद्याल लिग गत कार्तिकदेखि पुस पहिलो सातासम्म भएको थियो। १० विद्यालयको सभागिता रहेकोमा फाइनल पुगेका श्री लक्ष्मी सामुदायिक शिक्षा सदन र द ओल्ड क्यापिटल मावि दोस्रो चरणका लागि छनोट भएका थिए।
अब हुने राष्ट्रिय प्रतियोगितामा देशभरीका एकेडेमी, क्लब र विद्यालय गरी १२ टिम छनोट गरी क्लबको मैदानमा चैत अन्तिम साता प्रतियोगित आयोजना गरिनेछ।
ओसन क्लबको टिम र गोरखाका दुई टिम छनोट भइसकेको अवस्थामा ९ स्थानका लागि भाग लिन चाहनेले माघ २५ गतेसम्म सम्पर्क गर्नु पर्ने क्लबको भनाइ छ।
स्थापना साल २०७१ देखि फुटबल खेल विकास लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको गोरखाको क्लबले जिल्ला स्तरीय अन्तरविद्यालय यू-१४ फुटबल प्रतियोगिता, सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता, सिक्स ए साइड भेट्रान्स कप प्रतियोगितासहित विभिन्न समयमा विशेष प्रशिक्षण शिविर र प्रशिक्षण कार्यक्रम आयोजना गर्दै आएको छ। क्लबले नेपालमा नै पहिलो सामुदायिक स्तरको घाँसे मैदान समेत निर्माण गरेको छ।