अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजबिक्रम नेम्बाङ एसियाली फुटबल महासंघ (एएफसी) को कार्यसमिति सदस्य निर्वाचित भएका छन्।
बहराइनमा भएको ३३औं एएफसी कंग्रेस २०२३ बाट उनी साउथ जोनबाट निर्विरोध निर्वाचित भएका हुन्।
साउथ जोनबाट दुई जना केन्द्रीय सदस्यको कोटा रहेकोमा माल्दिभ्सका बसेम अदिल जलील र नेपालका नेम्बाङको अन्तिम उम्मेदवारी परेको थियो। यसअघि भारतबाट पनि उम्मेदवारी परेकोमा फिर्ता भएको थियो।
निर्वाचित नेम्बाङको कार्यकाल सन् २०२३ देखि २०२७ सम्मका लागि हुनेछ।
कंग्रेसले एएफसी अध्यक्षमा बहराइनका शेख सलमान विन इब्राहिम अल खालिफा निर्वाचित भएका छन्। उनी तेस्रो पटक एएफसीको अध्यक्ष निर्वाचित भएका हुन्।