अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा फागुन १९ गतेबाट यस संस्करणको सहिद स्मारक ए डिभिजन लिग हुँदैछ।
एन्फाले लिग सुरु हुन एक महिना बाँकी रहदा सबै तयारी गरिरहेको जनाएको छ।
डबल राउन्ड रोबिनको आधारमा हुने लिगका १८२ खेलहरु दशरथ रंगशाला, च्यासल खेल मैदान र एन्फा कम्प्लेक्सस्थित खेल मैदानमा संचालन गरिनेछ।
एन्फा महासचिव किरण राईका अनुसार तीन वटै मैदानको मर्मत सम्भार भइरहेको छ।
एन्फाले पाँचौ चरणसम्मको खेल तालिका सार्वजानिक गरिसकेको छ र बाँकी खेल तालिका पाँचौ चरण सकिएपछि सार्वजानिक गरिनेछ। लिग निर्देशक सन्जीव मिश्रले चैतपछि बाँकी खेलको तालिका प्रकासन गरिनेछ। यो सिजनको लिग जेठसम्म चल्ने उनको भनाइ छ।
लिगको मार्केटिङ, बोर्डकास्टिङ र टिकेटिङको टेन्डर आह्वान गरिसकिएको र सो टेन्डरहरु यहि माघ २३ गते खुला गरिने छ। एन्फाले बोर्डकास्टिङका लागि ६० लाख र टिकटका लागि १ करोड ५० लाख रुपैयाँको टेन्डर आह्वान गरेको थियो।
ए डिभिजन लिगका लागि सहभागी सबै १४ वटा क्लबले क्लब दर्ता गरेको एन्फाको भनाइ छ।
एन्फाले लिगको तयारी खर्च प्रत्येक ए डिभिजन क्लबलाई पहिलो किस्ताको १५-१५ लाख रुपैयाँ प्रदान गरिसकेको जनाएको छ।
क्लबहरुलाई खेलाडी दर्ताको लागि यहि माघ २९ गतेसम्मको मिति तय गरिएको छ। लिग निर्देशक मिश्रका अनुसार फिफा कनेन्टमार्फत खेलाडी दर्ता भइरहेको छ। आर्मीले खेलाडी दर्ता गराएको भने बाँकी क्लबले छिट्टै दर्ता गर्ने निर्देशक मिश्रले अपेक्षा गरे।
लिग च्याम्पियन हुने टिमले ७५ लाख, द्वितीय हुनेले ५० लाख र तृतीय हुनेले २५ लाख पुरस्कार पाउने छन्। लिगमा एक क्लबलाई फेयर प्ले अर्वाड स्वरुप तीन लाख पुरस्कार उपलब्ध गराइने छ। प्रतियोगितको सवोत्कृट खेलाडीलाई तीन लाख पुरस्कार उपलब्ध गराइने छ। त्यस्तै उत्कृष्ट गोलकिपर र उच्च गोलकर्तालाई समान दुई-दुई लाख पुरस्कार उपलब्ध गराइने छ।लिगको एक उदयमान खेलाडीलाई इर्मजिङ्ग प्लेयर घोषणा गरेर नगद रु एक लाख पचास हजार दिइने छ।
हरेक खेलको विजेता टोलीलाई ५० हजार रूपैयाँ पुरस्कार दिइने छ। खेल बराबरी भएको खण्डमा दुवै टोलीलाई समान २५-२५ हजार दिइने छ। हरेक खेलको उत्कृष्ट खेलाडीलाई प्लेयर अफ द म्याच स्वरुप दश हजार रुपैयाँ दिइनेछ।
ए डिभिजन लिगको अनुमानित लागत करिब १२ करोड रुपैयाँ रहेको छ। ए डिभिजन लिगका लागि एन्फाले सरकारसँग तीन करोड रुपैयाँ माग गरेको थियो। उक्त रकमका लागि पत्राचार गरेकोमा छलफल भइरहेको एन्फाको भनाइ छ।