चेल्सीले इंग्लिस प्रिमियर लिगमा आफ्नो खराब लय कायमै राखेको छ। गएराति फुलह्यामसँग गोलरहित बराबरी खेल्दै चेल्सीले छैठौं स्थानमा उक्लिने मौका गुमायो।
स्ट्याम्पफर्ड ब्रिजमा घरेलु टोली चेल्सीले कीर्तिमानी मूल्यमा तीन दिन अघि मात्रै भित्रिएका एन्जो फर्नान्डेजलाई पनि मैदानमा उतारेको थियो । पोर्चुगिच क्लब बेनफिकाबाट एक सय सात मिलियन पाउण्डमा चेल्सी अनुबन्द भएका उनले खासै प्रभाव देखाउन सकेनन्।
उनले दोस्रो हाफमा गोलका लागि गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो।
हाकिम जियसले दिएको पासमा काइ हाभेर्टजले गरेको प्रहार फुलह्यामबाट पहिलो खेल खेलेका डाभिड डाट्रो फोफानाले गोल लाइनबाट क्लियर गरिदिएका थिए ।
अधिकांश समय गोलको खोजीमा रहेको चेल्सीले मात्रै तीन पटक सिधा प्रहार गरेको थियो। फुलह्यामको अनुशासित डिफेन्सिभ लाइनले पनि चेल्सीलाई कुनै मौका दिएन।
यो बराबरीपछि फुलह्याम तालिकाको छैठौं स्थानमा उक्लेको छ। उसको २२ खेलबाट ३२ अंक छ। यता ग्राहाम पोटरको टोली चेल्सी बराबरीमा रोकिँदा छैठौं स्थानमा उक्लने मौका गुमाउनुका साथै ९ औँ स्थानमा छ। उसको २१ खेलबाट ३० अंक छ।
लिगमा दुई खेल कम खेलेको आर्सनल ५० अंकसहित शीर्ष स्थानमा कायम रहँदा एक खेल कम खेलेको म्यान्चेष्टछर सिटी ४५ अंकसहित दोस्रो स्थानमा छ।