म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ।
१० खेलाडीमा समेटिएको युनाइटेडले घरेलु मैदानमा क्रिस्टल प्यालेसलाई २–१ ले हराउँदै अंक तालिकाको तेस्रो स्थानमा पुगेको हो।
युनाइटेडको जितमा ब्रुनो फर्नान्डेस र मार्कस रासफर्डले गोल गरे। क्रिस्टल प्यालेसका जेफ्रेले एक गोल फर्काएका थिए।
ओल्ड ट्राफोर्डमा शनिबार राति भएको खेलको सातौं मिनेटमा ब्रुनो फर्नान्डेसको पेनाल्टी गोलबाट युनाइटेडले सुरूआती अग्रता लिएको थियो।
मार्कस रासफर्डको क्रसलाई क्लियर गर्ने क्रममा विल ह्युगले हातले बल छुन पुगेपछि रेफ्रीले भिएआरको सहायतामा युनाइटेडलाई पेनाल्टी दिएका थिए।
पहिलो हाफसम्म १-० ले अघि रहेको याइटेडका लागि ६३औं मिनेटमा रासफर्डले गोल गर्दै अग्रता दोब्बर पारे।
तर ७०औं मिनेटमा युनाइटेड १० खेलाडीमा समेटियो। ब्राजिली मिडफिल्डर क्यासमिरोले रातो कार्ड पाएर मैदान बाहिरिएका थिए।
अनावश्यक फउल गरेपछि रेफ्रीले भिएआरको सहायतामा उनलाई मैदान बाहिर पठाएका थिए।
त्यसको प्रत्यक्ष फाइदा क्रिस्टलले उठायो। खेलको ७६औं मिनेटमा जेफ्रेले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए। त्यसपछि थप गोल निस्कन नसक्दा युनाइटेडले अग्रता जोगाउँदै महत्वपूर्ण तीन अंक जोड्यो।
यो जितसँगै युनाइटेड २१ खेलबाट ४२ अंक जोडेर तेस्रो स्थानमा पुगेको छ। पराजित क्रिस्टल प्यालेस २१ खेलबाट २४ अंक जोडेर १२औं स्थानमा छ।
लिगमा २० खेलबाट ५० अंकसहित आर्सनल पहिलो र समान खेलबाट ४५ अंक जोडेको म्यान्चेष्टर सिटी दोस्रो स्थानमा छ।