इंग्लिस प्रिमियर लिगले चार वर्षको अनुसन्धानपछि म्यानचेस्टर सिटीमाथि १०० भन्दा बढी आर्थिक नियम उल्लंघन गरेको अभियोग लगाएको छ।
क्लबले २००९ देखि २०१८ को बीचमा नियम उल्लघंन गरेको अभियोग सहित एक स्वतन्त्र आयोगलाई रिपोर्ट पठाइएको छ।
सन् २०१८ को डिसेम्बरमा अनुसन्धान सुरु भएदेखि सिटीले सहयोग नगरेको पनि आरोप लगाइएको छ।
यता सिटीले भने आरोपलाई ‘आश्चर्यजनक’ भनेको छ।
आयोगले कारबाहीस्वरुप प्रिमियर लिगमा अंक कटौती र प्रिमियर लिगबाट निष्कासनसम्म गर्न सक्छ।
सन् २००८ मा अबुधाबी युनाइटेड समूहले क्लबको स्वामित्व लिएपछि गत सिजन सिटीले छैटौं प्रिमियर लिग उपाधि जितेको थियो।
प्रिमियर लिगले सिटीले क्लबको राजश्व सम्बन्धी नियम उल्लंघन गरेको जनाएको छ। यस्तै प्रशिक्षकको पारिश्रमिकमा विषयमा पनि क्लबलाई नियम मिचेको आरोप लगाइएको छ। पूर्व प्रशिक्षक रोबर्टो हुँदा निमय मिचेको बताइएको छ भने खेलाडीको पारिश्रमिकको विषयमा पनि प्रश्न उठाइएको छ।
सिटीले सिजन २०१३-१४ देखि २०१७-१८ सम्ममा फाइनान्सियल फेयर प्ले (एफएफपी) लगायत युरोपियन फुटबल महासंघको नियमहरू, २०१५-१६ देखि २०१८-१८ सम्म नाफा सम्बन्धी लिगको नियमहरू उल्लघंन गरेको प्रिमियर लिगले बताएको छ।
२०२० मा युरोपेली फुटबलको प्रशासकीय निकाय युइएफएले सन् २०१२ देखि २०१६ को बीचमा सिटीले एफएफपी नियमहरूको ‘गम्भीर उल्लंघन’ गरेको ठहर गरेको थियो।
यद्यपी सिटीमाथि लगाइएको युरोपेली प्रतियोगिताहरूबाट दुई वर्षको प्रतिबन्ध कोर्ट अफ आर्बिट्रेसन अफ स्पोर्ट्सले उल्टाएको थियो।
जर्मन अखबार डेर स्पिगलले नोभेम्बर २०१८ मा क्लबले प्रायोजन सम्झौताको मूल्य बढाएको आरोप लगाउँदै ‘लिक’ कागजातहरू प्रकाशित गरेपछि युइएफएले सिटीमाथि अनुसन्धान थालेको थियो।
अब सिटीमाथि स्वतन्त्र आयोगले गोप्यरूपमा सुनुवाइ गर्नेछ।