नागरिक उड्डयन प्राधिकरण ‘ए’ ले १३ औं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटसलको उपाधि बुधबार जितेको छ।
सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपाल (पेस्डान) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा नागरिक ‘ए’ ले नेपाल आयल निगम ‘बी’ लाई २–१ गोलले पराजित गर्यो। नागरिक ‘ए’ का सुमित पराजुली र सुजन भारतीले १–१ गोल गरे। निमग ‘बी’ का राम विश्वकर्माले १ गोल फर्काए।
भृकुटिमण्डपमा भएको फुटसलमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाउने पेस्डानका उपमहासचिव समेत रहेका फुटसल संयोजक प्रशान्तबहादुर श्रेष्ठले जनाएका छन्। दुईदिने फुटसलमा १४ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगिताअन्तर्गत बिहीबारदेखि ब्याडमिन्टनको प्रतिस्पर्धा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु हुँदैछ।
ब्याडमिन्टनमा पुरुष÷महिला सिंगल्स र डबल्स, भेट्रान ४५ वर्षमाथि पुरुष डबल्स तथा पेस्डान एक्सिक्युटिभ डबल्स गरी ६ स्पर्धामा खेल हुने ब्याडमिन्टन खेलका संयोजक समेत रहेका पेस्डानका महासचिव रामविनय श्रेष्ठले जानकारी गराए। प्रत्येक स्पर्धाका पदक विजेताले नगद पुरस्कार पाउने छन्। ब्याडमिन्टनको कुल पुरस्कार राशी १ लाख ७५ हजार रुपैयाँ रहेको छ। १ सय २६ खेलाडीले प्रतिस्पर्धा गर्ने छन्।