अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन लिग क्लबले अब पाँच जना विदेशी खेलाडी आबद्ध गर्न पाउने व्यवस्था गरेको छ।
एन्फा प्रवक्ता सुरेश शाहका अनुसार अब तीन जना विदेशी, एक जना एसियाली र एक जना दक्षिण एसियाली खेलाडी गरी पाँच खेलाडी आबद्ध गर्न पाइनेछ। यसअघि चार जना मात्र विदेशी खेलाडी आबद्ध गर्न पाइने नियम थियो।
प्लेइङ-११ मा चार जना विदेशी खेलाडी खेलाउन पाइनेछ।
‘एसियाली फुटबल महासंघको रेगुलेसनअनुसार नै हामीले खेलाडीको कोटा बढाएका हौं। रेगुलेसनमा ६ जना विदेशी खेलाडी राख्न पाउने नियम छ,’ उनले भने, ‘क्लबसँगको छलफलपछि यो निर्णय गरेका हौं।’
दर्जन बढी राष्ट्रिय खेलाडी अस्ट्रेलिया पलायन भएपछि खेलाडी अभाव भएकाले ए डिभिजन लिगमा विदेशी खेलाडीको कोटा बढाइएको विषयलाई पनि शाहले स्विकार गरे। तर उनले विदेशी खेलाडी राख्दा लिगमा प्रतिस्पर्धा बढ्ने जिकिर गरे।
फागुन १९ गतेबाट यस संस्करणको सहिद स्मारक ए डिभिजन लिग हुँदैछ।
डबल राउन्ड रोबिनको आधारमा हुने लिगका १८२ खेलहरु दशरथ रंगशाला, च्यासल खेल मैदान र एन्फा कम्प्लेक्सस्थित खेल मैदानमा संचालन गरिनेछ।
ए डिभिजन लिगका लागि सहभागी सबै १४ वटा क्लबले लिगको तयारीको पहिलो किस्ताको १५-१५ लाख रुपैयाँ पाइसकेका छन्।
लिग च्याम्पियन हुने टिमले ७५ लाख, द्वितीय हुनेले ५० लाख र तृतीय हुनेले २५ लाख पुरस्कार पाउने छन्।
लिगमा एक क्लबलाई फेयर प्ले अर्वाड स्वरुप तीन लाख पुरस्कार उपलब्ध गराइने छ। प्रतियोगितको सवोत्कृट खेलाडीलाई तीन लाख पुरस्कार उपलब्ध गराइने छ। त्यस्तै उत्कृष्ट गोलकिपर र उच्च गोलकर्तालाई समान दुई-दुई लाख पुरस्कार उपलब्ध गराइने छ।लिगको एक उदयमान खेलाडीलाई इर्मजिङ्ग प्लेयर घोषणा गरेर नगद रु एक लाख पचास हजार दिइने छ।
हरेक खेलको विजेता टोलीलाई ५० हजार रूपैयाँ पुरस्कार दिइने छ। खेल बराबरी भएको खण्डमा दुवै टोलीलाई समान २५-२५ हजार दिइने छ। हरेक खेलको उत्कृष्ट खेलाडीलाई प्लेयर अफ द म्याच स्वरुप दश हजार रुपैयाँ दिइनेछ।
ए डिभिजन लिगको अनुमानित लागत करिब १२ करोड रुपैयाँ रहेको छ। ए डिभिजन लिगका लागि एन्फाले सरकारसँग तीन करोड रुपैयाँ माग गरेको थियो। उक्त रकमका लागि पत्राचार गरेकोमा छलफल भइरहेको एन्फाको भनाइ छ।