सुरूआती अग्रता जोगाउन नसक्दा इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनल बराबरीमा रोकिएको छ। आर्सनल घरेलु मैदानमा ब्रेन्टफर्डसँग १–१ गोलको बराबरीमा रोकिएको हो।
यो बराबरीपछि मिकेल आर्टेटाको टोलीले तालिकामा स्पष्ट ८ अंकको अग्रता बनाउने मौका गुमायो।
इमिरेट्स स्टेडियम लन्डनमा गएराति भएको खेलमा आर्सनलका लियान्द्रो ट्रोससार्ड गोल गर्दा ब्रेन्टफर्डका इभान टोनीले बराबरी गोल फर्काएका थिए।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६६ औं मिनेटमा लियान्द्रो ट्रोससार्डले गोल गर्दै आर्सनललाई सुरूआती अग्रता दिलाए। तर, आर्सनलले उक्त अग्रता जोगाउन सकेन।
७४ औं मिनेटमा इभान टोनीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। विवादित बनेको यो गोल धेरै बेर भिडियो रेफ्रीले हेरेपछि मात्रै मान्यता पाएको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो।
यो बराबरीपछि आर्सनलले शीर्षस्थानमा आफ्नो अग्रतालाई बढाउने मौका गुमाएको छ। आर्सनलको २१ खेलबाट ५१ अंक छ। समान खेलबाटै दोस्रो स्थानको म्यानचेस्टर सिटीको ४५ अंक छ। ब्रेन्टफर्ड २२ खेलबाट ३४ अंक जोडेर आठौं स्थानमा छ।
यस्तै गएराति नै भएको अर्को खेलमा टोटेनहममाथि लेस्टर सिटीले ४ - १ गोलको पुनरागमन जित निकाल्दै २४ अंकसहित १३ औं स्थानमा उक्लिएको छ।
गएराति नै फुलह्यामले नटिङगम फरेस्टलाई २-० गोल अन्तरले हराउँदै तालिकामा सातौं स्थानमा उक्लिएको छ। यस्तै साउथह्याम्पटनलाई २ - १ गोलले हराएको उल्भ्सले रेलिगेशन जोनको खतरा टारेको छ। यस्तै सुरूआती अग्रता जोगाउन नसकेको चेल्सी वेष्ट ह्यामसँग अंक बाड्न बाध्य भयो। चेल्सी २२ खेलबाट ३१ अंक जोड्दै नवौं स्थानमा छ।