इल्चेमाथि सानदार जित निकाल्दै रियल म्याड्रिडले स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनासँग अंक दुरी छोट्याएको छ ।
रियलले घरेलु मैदानमा इल्चेमाथि ४–० को फराकिलो जित निकाल्दै बार्सिलोनासँगको अंक दुरी ८ मा छोट्याएको हो।
सान्टियागो बर्नबेउमा बुधबार राति घरेलु टोलीलाई जिताउन कप्तान करिम बेन्जेमाले दुई तथा मार्को एसेन्सियो र लुका मोड्रिचले एक-एक गोल गरे ।
खेलको आठौं मिनेटमा नै एसेन्सियोको गोलबाट रियलले खेलमा सुरूआती अग्रता लियो।
३१ औं मिनेटमा कप्तान बेन्जेमाले गोल गर्दै रियलको अग्रता दोब्बर पारे। क्रसबाट आएको पासलाई बेन्जेमाले हेडर प्रयास गर्दा एन्जो रोकोले ह्यान्ड गर्न पुगेपछि रेफ्रीले पेनाल्टी प्रदान गर्दा बेन्जेमा चुकेनन् ।
पहिलो हाफको इन्ज्युरी समयमा बेन्जेमाले पुनः पेनाल्टीमा गोल गरेपछि रियलले पहिलो हाफमा ३–० को दिलाए। रोड्रिगोलाई डिएगो गोन्जालेजसले फउल गरेपछि रियलले पेनाल्टी पाएको थियो।
खेलको ६८ औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियलको फराकिलो जित पक्का गरे।
यो जितसँगै दोस्रो स्थानमा रहेको रियलको २१ खेलबाट ४८ अंक पुगेको छ। समान खेलबाटै शीर्षस्थानमा रहेको बार्सिलोनाको ५६ अंक छ। पराजित इल्चे ९ अंक जोडेर पुछारमा छ।
तेस्रो स्थानमा रहेको रियल सोसिएडाडको ४२ अंक छ।