भद्रपुरस्थित मेची रंगशालामा भोलिदेखि सुरू हुने भद्रपुर झापा गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ।
भद्रपुर झापा गोल्ड कप आयोजक समितिले मेची रगंशालामा आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार खेलका लागि आवश्यक सबै पूर्वाधार सहितका संरचना तयार पारिएको हो।
आयोजकका अनुसार उद्घाटन खेल आयोजक भद्रपुर ब्लेजर्स र जयगाउँ फुटबल क्लब भारतबीच हुनेछ।
त्यस्तै, दोस्रो खेल फागुन ८ गते नेपाल पुलिस क्लबविरूद्ध चर्च ब्वाइज युनाइटेडले खेल्नेछ। पछिल्लो ए डिभिजन लिगमा पुलिस ११ औँ स्थान र चर्च ब्वाइज नवप्रवेशी टिम हो।
भद्रपुर झापा गोल्डकपको तेस्रो खेल फागुन ९ गते पहिलो खेलको विजेतासँग संकटा क्लबले प्रतिस्पर्धा गर्नेछ। लिगमा संकटा सातौँँ स्थानमा रहेको टोली हो।
चौथो खेल फागुन १० गते दोस्रो दिनको विजेतासँग मछिन्द्र फुटबल क्लबले खेल्नेछ। मछिन्द्र लिग च्याम्पियन टोली हो।
प्रतियोगिताअनुसार पाँचौं खेल फागुन ११ गते त्रिभुवन आर्मी फुटबल क्लबका विरूद्ध भुटानको ड्रुक ल्हायुल फुटबल क्लबले खेल्नेछ। लिगमा आर्मी दोस्रो स्थानको टोली हो।
भद्रपुर झापा गोल्ड कपमा छैटौं खेल फागुन १२ गते एपिएफ फुटबल क्लबले बंगलादेश ढाकाको काउवार्न बजार प्रगति संघ एएफसीका विरूद्ध प्रतिस्पर्धा गर्नेछ। लिगमा एपिएफ आठौं स्थानको टोली हो।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेल फागुन १३ गते हुनेछ भने दोस्रो सेमिफाइनल खेल फागुन १४ गते हुनेछ। भद्रपुर झापा गोल्डकपको फाइनल खेल फागुन १६ गते मंगलबार हुनेछ।
समितिका महासचिव जीवनकुमार श्रेष्ठका अनुसार नेपाल, भारत तथा भुटानका गरी १० टिमको सहभागिता हुने गोल्डकपमा खेल व्यवस्थापन, पुरस्कार तथा सम्मान र खेलाडी व्यवस्थापनका लागि आवश्यक संरचना तयार भइसकेका छन्।
महासचिव श्रेष्ठले प्रथम पुरस्कर १३ लाख राशिको र द्वितीय पुरस्कार ७ लाख राशिको रहने बताए।
गोल्डकप समितिका अध्यक्ष दिपेश ढकालले रंगशालामा २० हजार दर्शकले एकैचोटी खेल हेर्ने गरी स्थायी र अस्थायी प्यारामिट तयार पारिएको बताए।
टिकट दर १५० रुपैयाँ भए पनि १४० रूपैयाँ बराबरको जुस नि:शुल्क रूपमा खरिदकर्ताले पाउने छन्। यस्तै हरेक दिन २४ इन्चको टिभी, सौर्य एयरलाइन्सको काठमाडौं भद्रपुरका लागि ३ वटा टिकट र ५ जनाले होटलमा खाना नि:शुल्क पाउने गरी लक्की ड्रको व्यवस्था समेत गरिएको अध्यक्ष ढकालले जानकारी दिए।